काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन भइरहेको १२ कक्षाको प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा अगावै सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोले प्रश्नपत्रको गोपनीयता भङ्ग गर्ने कार्यमा संलग्न रहेको भन्दै मंगलबार काठमाण्डुबाट दुवैलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर–८ स्थायी घर भई हाल काठमाण्डुको सुविधानगर बस्ने ३७ वर्षीय निराजन शाही र धादिङको नीलकण्ठ–३ घर भई हाल कपन बस्ने ३० वर्षीय प्रेम कुमार श्रेष्ठ रहेका छन् ।
ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी दिलीप कुमार गिरीका अनुसार उनीहरूले ‘क्लास १२ म्यानेजमेन्ट अनली’ नामक ह्वाट्सएप ग्रूप तथा फेसबूक मेसेन्जरमा विभिन्न समूहहरू बनाएर उत्तरसहितको प्रश्नपत्र परीक्षाअगावै सार्वजनिक गरेका थिए ।
राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र बाहिरिएको सम्बन्धमा अनुसन्धानका लागि पत्र पठाएपछि ब्यूरोले प्राविधिक विश्लेषण सुरु गरेको थियो ।
प्राविधिक अनुसन्धानका क्रममा शाही र श्रेष्ठको संलग्नता पुष्टि भएपछि ब्यूरोको टोलीले उनीहरूलाई काठमाण्डुको चाबहिलबाट पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान अगाडि बढाइएको छ ।
जिल्ला अदालत काठमाण्डुबाट ४ दिनको म्याद थप गरी उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । परीक्षाको गोपनीयता कायम राख्नुपर्ने संवेदनशील समयमा प्रविधिको दुरुपयोग गरी प्रश्नपत्र बाहिर ल्याउने अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको ब्यूरोले उल्लेख गरेको छ ।





प्रतिक्रिया