यी हुन् चुनावमा पराजित भएका हेभिवेट नेता


काठमाण्डु- राष्ट्रिय राजनीतिमा उचाइ बनाएका विभिन्न दलका नेता यसपटक चुनावमा पराजित भएका छन् । नेकपा एमाले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, माओवादी केन्द्रका महासचिव, नेपाली कांग्रेसका पूर्वमहामन्त्री, पूर्वउपसभामुख, जसपा अध्यक्ष, एकीकृत समाजवादीका उपमहासचिव, सचिवसहित दुई जना बहालवाला मन्त्रीले हार बेहोरेका छन् ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कांग्रेसका प्रदीप पौडेलसँग पराजित भए । २०५४ मा पहिलोपटक राष्ट्रियसभा सांसद बनेका पोखरेलले २०५६ मा राष्ट्रिय सभाबाट राजीनामा दिएर प्रतिनिधिसभामा प्रतिस्पर्धा गरेका थिए। पोखरेल एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको वरीयतामा छन्।

यस्तै एमाले महासचिव शंकर पोखरेल दाङ २ मा माओवादीकी रेखा शर्मासँग १ सय ९६ मतान्तरले पराजित भएका हुन्। लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका पोखरेल पहिलोपटक २०५१ मा कांग्रेसका दीपक गिरीलाई पराजित गर्दै दाङ २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । यस्तै पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग करिब ८ हजार मतान्तरले पराजित भए।

माओवादी विद्रोहबाट राजनीतिमा उदाएका एमाले सचिव लेखराज भट्ट यसपटक एमालेबाट कैलाली ४ मा कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरसँग पराजित भएका छन् । भट्टले २०६४, २०७० र २०७४ को निर्वाचनमा माओवादीबाट जीत हासिल गरेका थिए । युवा संघको अध्यक्ष हुँदा चर्चामा आएका एमाले नेता महेश बस्नेत भक्तपुर २ मा कांग्रेस जिल्ला सभापति दुर्लभ थापासँग ९ सय ५७ मतान्तरले पराजित भए ।

यस्तै एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा उदयपुर २ मा एमालेका अम्बरबहादुर रायमाझीसँग पराजित भएका छन् । यसैगरी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री गुल्मी २ मा एमालेका गोकणर् विष्टसँग पराजित भए।

यस्तै कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग लगातार दोस्रोपटक पराजित भएका छन्। बहालवाला राज्यमन्त्री कांग्रेसका उमेश श्रेष्ठ चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेसँग ३४ हजार २ सय ८१ मतान्तरले पराजित भएका छन्। पूर्वमन्त्री सुनील थापा धनकुटामा एमालेका राजेन्द्रकुमार राईसँग पराजित भएका हुन्।

यसैगरी कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) मकवानपुर १ मा राप्रपाका दीपकबहादुर सिंहसँग पराजित भइन। सिंहसँग राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पराजित भएका छन्। थापा, उपाध्याय र सिंहबीच यसपटक त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो ।

पटक पटक मन्त्री भएका कांग्रेस नेता बलबहादुर केसी सोलुखुम्बुमा एमालेका मानवीर राईसँग पराजित भएका छन्। निवर्तमान उपसभामुख कांग्रेसकी पुष्पा भुसाल अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीसँग पराजित भए भने पूर्वमन्त्री कांग्रेसका भीमसेनदास प्रधान काठमाण्डु ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भए।

जसपा अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सिके राउतसँग फराकिलो मतान्तरमा पराजित भएका छन्। मधेस आन्दोलनबाट उदाएका यादव पृथकतावादी राजनीति छोडेर शान्तिपूर्ण राजनीतिमा आएका राउतसँग पराजित भएका हुन्।

माओवादीका महासचिव देवप्रसाद गुरुङ लमजुङमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित भए । पूर्व ऊर्जामन्त्री पम्फा भुसाल ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीसँग पराजित भइन । पूर्वसभामुख ओनसरी घर्ती काठमाण्डु २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँग पराजित भएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement