नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको कानुनी उपचार खोजिने छ : पारस खड्का

नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको कानुनी उपचार खोजिने छ : पारस खड्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानबिन सहित संस्थागत पद्धतिबाट छिट्टै नै कानुनी उपचार समेत खोजिने बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा खड्काले आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्यसहित संघभित्रका केही सदस्यहरू अनर्गल प्रचार गर्न लागिरहेकोले यसबारे कानुनी उपचार खोजिने चेतावनी दिएका हुन् ।

‘कयौँ चुनौती र कठिनाइहरूलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैँमा महत्त्वपूर्ण रहेको छ । यद्यपि यी सबैका बिच, संघका अध्यक्ष, सचिव लगायत सिङ्गो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउँदै आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्य सहित यसै संघ भित्रका केही सदस्यहरूले हरसम्भव प्रयास गरिरहनु भएको कार्य आफैँमा दुखद् हो।’

उनले नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरूलाई समेत यस प्रकारका व्यक्तिगत राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यस विश्वकपमा सक्दो हौसला प्रदान गरिदिन अनुरोध गरेका छन् ।

‘यस बिचमा मैले २० वर्ष देशको लागि खेलाडीका रूपमा कमाएको व्यक्तिगत प्रतिष्ठा मात्र नभई संघको गरिमामाथि नै आँच आउने गरि केही पदीय लाभ लिनका निमित्त अनर्गल र आधारहीन वक्तव्यहरूको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानबिन सहित संस्थागत पद्धतिबाट छिट्टै नै कानुनी उपचार समेत खोजिनेछ,’ खड्काले लेखेका छन् ।