नेकपा सांसद पार्वत गुरुङ अदालत उपस्थित


काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद पार्वत गुरुङ काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका गुरुङ गत भदौमा काठमाडौं जिल्ला अदालतले काटेको पक्राउ पुर्जी काटेपछि उपस्थित भएका हुन् । उनी दोलखाबाट निर्वाचित सांसद हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनपछि राजधानीको गौशालामा एकजनामाथि गम्भीर घाइते हुने गरी भएको आक्रमणको घटनामा गुरुङविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको थियो । गुरुङमाथि लागेको अभियोगबारे अदालतमा आजै बयान हुने भएको छ ।

अदालतले प्रहरीलाई गुरुङलाई पक्राउ गरी कात्तिक १४ गतेभित्र उपस्थित गराउन भनेको थियो । तर गुरुङ म्यादअगावै उपस्थित भएपछि अदालतको सात नम्बर इजलासमा आजै बयान हुने भएको छ ।

दोलखाकै विश्वध्वज खड्काले जाहेरी मुद्दामा जिल्ला अदालत काठमाडौंले दोलखा जिल्ला अदालतमा पत्र पठाई म्याद तामेल गरेको थियो । यो घटनामा आरोप प्रमाणित भएमा गुरुङलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement