पोखरा विमान दुर्घटनाः पर्वतका १० जनाको मृत्यु


पर्वत – आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा पर्वतका १० जनाको ज्यान गएको पुष्टि भएको छ।

मृतक सबैको सनाखत भइसकेको छ। दुर्घटनामा परी कुश्मा नगरपालिका-१४ आर्थर डाँढाखर्कका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुश्मा -९ का अरुण पौडेल र उनकी छोरी ११ वर्षीया प्रसिद्धि पौडेल, कुश्मा-१ पाङकी रचना काफ्ले र उनका छोरा १० महिने रिहान पौडेलको ज्यान गएको हो।

त्यसैगरी मोदी गाउँपालिका-१ भुकताङ्लेका विजय गुरुङ, विहादी -५ उराम पोखराका एकै परिवारका जमुना शर्मा, युवराज शर्मा, आयुर्दी शर्मा र वेबी शर्माको पनि मृत्यु भएको छ। शर्मा परिवारमा आमा, छोरा, नाती र नातिनी चारजनाको मृत्यु भएको हो। उनीहरू यही माघ ४ गते आफन्तको घरमा रहेको पूजामा निम्ता मान्न आएका थिए।

दुर्घटनामा ज्यान गुमाउने कुश्मा -९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल र उनकी छोरी वर्ष ११ की प्रसिद्धि पौडेल विद्यालय बिदा भएपछि आफन्त भेटघाट गर्न आउँदै थिए। उनीहरू जन्मघर पर्वत आउने क्रममा दुर्घटनामा परेका हुन्। ‘छोरीको स्कुल बिदा पनि भएकाले दाजुभाइ भेटौँ भनेर जन्मघर आउन लाग्नुभएको रहेछ’, अरुणका छिमेकी उपेन्द्र अधिकारीले भने,‘उनीहरूलाई लिन भाइ केशव विमानस्थलमै पुग्नुभएको थियो।’

केशवले नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर अरुण र प्रसिद्धिको शव पहिचान गरेका छन्। पौडेल गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा पर्वतबाट स्वतन्त्र उम्मेदवार बनेका थिए।

दुर्घटनामा परी ज्यान गुमाएका पर्वतका सबैको पहिचान भएकाले आज आफन्तलाई शव बुझाउने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement