प्रचण्डको ‘क्षेप्यास्त्र’ ले तरंग


काठमाडाैं – ‘यतिबेला किन बोले दाहाल ? ’ राजनीतिक वृत्तमा जिज्ञासा पोखिने क्रम बढ्दै छ । प्रधानमन्त्री केपी ओली भारत जाने सुरसार गर्दै गर्दा अर्का अध्यक्ष पुष्पकमल दाहालले १५ गते एक टेलिभिजनमार्फत डेढ वर्षपछि आफू प्रधानमन्त्री हुने सहमति भएको खुलासा गरे । यो खुलासाले ओली निकै क्रुद्ध बनेका थिए । भारी मन र खिन्न अनुहार बनाएर ओली भारततर्फ प्रस्थान गर्दै गर्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ५ बुँदे सहमति छ्याप्छ्याप्ती भइसकेको थियो । ओलीका लागि यो घटना निकै असह्य थियो ।

दुई तिहाइको स्थायी सरकारको सन्देश दिइरहेका ओलीलाई डेढ वर्षपछि सत्ता हस्तान्तरणको सहमति खुलासाले मन खिन्न हुनु स्वाभाविक पनि थियो । ओली दिल्ली जाने तय भइसकेपछि यस्तो खुलासा गर्नु अर्का अध्यक्ष दाहालको रणनीति, बाध्यता वा परिबन्ध ? के थियो भन्ने बहस सुरु भएका छन् । निश्चय नै, दुई पटक प्रधानमन्त्री बनिसकेका दाहाललाई मुलुकको प्रधानमन्त्री विदेशमा जाने निश्चित भइसकेको वा प्रधानमन्त्री विदेशमा रहेका बेला सरकारका विषयमा बोल्नु उचित होइन भन्ने हेक्का थिएन भन्न मिल्दैन ।

प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा रहेका बेला अख्तियारले रातारात पत्रकार सम्मेलन गर्दाको पीडा दाहालले यति चाँडै बिर्से होलान् र ? राजनीतिमा ‘के बोलियो भन्ने कुराको जति महत्व छ । कतिबेला बोलियो’, भन्ने कुराले पनि उत्तिकै महत्व राख्छ । भारतमा ५ वर्षका लागि मोदीको पुनः उदय भएको र उक्त समारोहमा ओली सहभागी हुने निश्चित भइसकेपछि दाहालको खुलासाले ‘ओलीको कार्यकाल ५ वर्ष’ छैन भन्ने ‘कूटनीतिक’ सन्देश प्रवाह गरेको बुझ्न कठिन छैन । यो खबर आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement