भारत भ्रमणलाई उल्टोपाल्टो पारेर भ्रम फैलाइयाे : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु –  प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिधै किसानको हातमा अनुदान दिने नीति लिएको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलामा प्रधानमन्त्री प्रचण्डले भने, ‘विगतमा अर्बौं, अरबका अनुदानका कार्यक्रम बने। तर, तिनीहरूको सही सदुपयोग हुन सकेन। जसले उत्पादन गर्छ, उसले अनुदान नपाउने स्थिति रह्यो। त्यो एक प्रकारले बालुवामा पानी हालेजस्तै भयो । विगतका अनुभवबाट शिक्षा लिएर सरकारले यसपटक सिधै किसानको हातमा पुग्नेगरी अनुदान दिने नीति लिएको छ ।’

नेपालको विकासका लागि प्रचुर सम्भावना रहेको उल्लेख गर्दै प्रचण्डले त्यसको सदुपयोग गर्न सक्नुपर्ने बताए । ‘प्रकृतिले दिएको साधन स्रोतका दृष्टिले हामी गरिब छैनौँ, हामी धेरै धनी छौँ । हामीसँग जमिन, जंगल, हिमाल, जडीबुटी, जलविद्युत्‌को उत्पादन र सदुपयोगमार्फत् निर्यातमुखी अर्थतन्त्रको विकास गर्नसक्ने प्रचुर सम्भावना छ,’ उनले भने, ‘तर, त्यसको सही सदुपयोग गर्नुपर्ने चुनौती हाम्रा सामु छ ।’

४० वर्षअघि खाद्यान्न निर्यात गर्ने नेपाल अहिले गरिब भएको भन्दै उनले भने, ‘हामीले विगतभन्दा राम्रो पढ्यौँ,राम्रो ज्ञान पनि आर्जन ग-यौँ। तर, हाम्रो श्रम संस्कृति कमजोर हुँदै गयो। हामी परनिर्भर हुँदै गयौँ। हामीले यसको गहिरो समीक्षा गर्न जरूरी छ। श्रम र मेहेनतबिना संसारको कुनै पनि मुलुक बन्दैन र बनेको पनि छैन। त्यतातर्फ हामी सबैको ध्यान जान आवश्यक छ।’

उनले भारत र तेस्रो मुलुकबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भोग्दै आएका समस्या र दुःख, कष्टको सहजीकरण र सम्बोधन गर्न सरकार गम्भीर रूपले लागिरहेको जानकारी गराए ।

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणको सन्दर्भमा उल्टोपाल्टो पारेर भ्रम फैलाउन लागिएको भन्दै सचेत हुन आग्रहसमेत गरे । उनले जसले देशमा राजनीतिक परिवर्तन ल्यायो उसले मात्रै देशलाई एकताबद्ध गर्न सक्ने बताए । ‘जुन शक्ति र विचारले यति ठूलो परिवर्तन नेपालमा सम्भव तुल्यायो ।

अब त्यही विचार, त्यही प्रवृत्ति र शक्तिले मात्रै राष्ट्रलाई एकताबद्ध गर्न सक्छ । आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नसक्छ । नयाँ योजना र भिजनसहित देशलाई लानसक्छ भन्नेकुरा हामीले साबित गर्न सकेनौँ भने देश दुर्घटनामा पर्ने खतरा छ,’ उनले भने । उनले वैदेशिक रोजगारीबाट नेपाल फर्किएकाहरुका लागि सबै स्थानीय तहमार्फत अवसरहरूको सिर्जना गरिने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement