काठमाण्डु – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शपथ ग्रहण समाराेहका लागि दाैरा सुरुवाल लगाउने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त प्रधानमन्त्रीको शपथ समारोह सोमबार अपराह्न ४ बजे आयोजना हुनेछ।
विसं २०६५ र २०७३ मा प्रधानमन्त्री हुँदा पनि प्रचण्डले काेटपेन्ट नै लगाएर शपथ ग्रहण गरेका थिए। यसपटक भने उनले दाैरा सुरुवाल लगाएर शपथ ग्रहण गर्ने भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संविधानको धारा ७६ (२) बमोजिम प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका हुन्। यससँगै उनी नेपालका ४४ औँ प्रधानमन्त्री बनेका छन्। प्रचण्डलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन छ।
स्वतन्त्र ४ सांसदसहित १६९ जना सांसदको समर्थन प्रचण्डलाई छ।




प्रतिक्रिया