प्रचण्डलाई थर्काउँदा माधव नेपालको पार्टीले पायो भागबण्डा

प्रचण्डलाई थर्काउँदा माधव नेपालको पार्टीले पायो भागबण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई गठबन्धनभित्र सानो दल भनेर हेप्ने गरिएको गुनासो गर्छन् । केही दिनअघि सिन्धुलीमा आयोजित कार्यक्रममा उनले सरकार ढालिदिनेसम्मको चेतावनी प्रधानमन्त्री प्रचण्डलाई दिए ।

अध्यक्ष नेपालले सरकार र सत्तारुढ गठबन्धनभित्रको व्यवहारप्रति असन्तुष्टि जनाउँदै आएका छन् । त्यसअघि कर्णाली प्रदेशमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनप्रति असन्तुष्टि जनाएका थिए । पछि काठमाडौं आएर नेपालले कर्णाली प्रदेशको सन्दर्भमा सरकारमा भाग नदिएको भनेर असन्तुष्टि पोखेको स्पष्टीकरण दिएका थिए ।

संसद्मा सिट संख्या कम भएको भनेर गठबन्धनभित्र अपमान र अवमूल्यन हुने गरेको अध्यक्ष नेपालको गुनासो छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा सिट संख्या जोड्दा एकीकृत समाजवादी चौथो शक्ति रहेको अध्यक्ष नेपालले दाबी गरे । धेरै सिट संख्या भनेर घमण्ड गरेमा एमालेको जस्तै हालत बनाइदिने अध्यक्ष नेपालको चेतावनी थियो ।

यसरी गठबन्धनलाई सार्वजनिक चेतावनी दिएपछि अध्यक्ष नेपालको पार्टी एकीकृत समाजवादीले मधेश प्रदेश सरकारमा भागबण्डा पाएको छ । नेकपा एकीकृत समाजवादी १ मन्त्रालय पाएर मधेश प्रदेश सरकारमा सहभागी भएको छ । पार्टीबाट संसदीय दलका नेता गोविन्द न्यौपाने मन्त्री नियुक्त भएका छन् ।

एकीकृत समाजवादीले कर्णाली प्रदेशमा पनि भाग खोजिरहेको छ तर सुविधाजनक भएको भन्दै गठबन्धन दलले उसलाई महत्त्व दिएका छैनन् । जसले गर्दा अध्यक्ष नेपालले कर्णालीमा आयोजित कार्यक्रममा असन्तुष्टि पोखेका थिए ।