काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचन परिणाम माओवादीको पक्षमा आउनबाट अब कसैले रोक्न नसक्ने बताएका छन्।
शनिबार अनेरास्ववियू क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०६४ मा जस्तै अहिले देशव्यापी लहर आएको उल्लेख गर्दै २०८४ को निर्वाचन परिणाम माओवादीको पक्षमा आउनबाट अब कसैले रोक्न नसक्ने बताएका हुन्।
आफू ७० वर्षे वृद्ध भइसकेको र अहिले विद्यार्थी संगठनमा ३२ वर्षमुनिका साथीहरु आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको बीचमा जान अब नयाँ खालको प्रतिष्पर्धा गर्न आवश्यक रहेको बताए। यसपटक अखिल क्रान्तिकारीले आन्तरिक लोकतान्त्रिक राम्रो अभ्यास गरेको उल्लेख गर्दै उनले यसपटक पुरानो विरासत स्थापित गरेको समेत बताए।
त्यस्तै उनले सिंगै देशको ध्यान अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनमा केन्द्रित भएको उल्लेख गर्दै यसले संगठनको पहिचान थप उँचो बनाएको बताए । ठूलो उत्साहका साथ उद्घाटन भए पनि बन्दसत्र अलिअलि महाभारत जस्तो भएकाले धेरैमा चिन्ता सिर्जना भए पनि अन्तिममा लोकतान्त्रिक विधिबाट नीति र नेतृत्व चयन हुनु महत्वपूर्ण भएको प्रचण्डको भनाइ छ ।
अध्यक्ष प्रचण्डले उमेर हद र नेतृत्व दुबैमा निर्वाचनबाट नै टुंगो लगाउनुपर्छ भनेर पार्टी दृढतापूर्वक लागेको र यसमा पार्टीले प्रत्यक्ष हस्तक्षेप नगरेर विद्यार्थीकै मतबाट टुंगो लगाउनु महत्वपूर्ण अभ्यास भएको बताए । यसबाट माओवादीले नीति र नेतृत्व दुबै लोकतान्त्रिक विधिबाट टुंग्यायो भन्ने शक्तिशाली सन्देश स्थापित भएको पनि उनले बताए ।
विद्यार्थी संगठनको निर्वाचनपछि आफूले यस पटक सही विवेकको प्रयोग गरेको संश्लेषण गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले आएको परिणामले मिलेर अघि बढ्ने र संगठनलाई एकताबद्ध बनाउने वातावरण बनेको बताए । यो चुनावले विद्यार्थी नहुने, तर विद्यार्थी नेता हुने स्थितिको अन्त्य गरेको उनको भनाइ छ । अब विद्यार्थी संगठनलाई पार्टीले एकताबद्ध बनाएर लैजान सहयोग गर्ने बताए ।
संसारभरिको कम्युनिष्ट पार्टीभित्रको अन्तरसंघर्ष र बहस हुँदा एकता, संघर्ष, रुपान्तरण, नयाँ आधारमा नयाँ एकता नै महत्वपूर्ण सूत्र भएको उल्लेख गर्दै उनले सबैले यसलाई आत्मसात गर्नुपर्नेमा जोड दिए । आगामी स्ववियु निर्वाचनमा श्रेष्ठता हासिल गर्न आग्रह गर्दै प्रचण्डले अखिल क्रान्तिकारीको नयाँ केन्द्रीय समितिका अगाडि महत्वपूर्ण चुनौतीको रुपमा रहेको बताए ।




प्रतिक्रिया