प्रचण्डसँग निकट रहेका वामदेव प्रचण्डकै प्रतिवेदनविरुद्ध किन उभिए ?


काठमाडौं – नेपाली कम्युनिस्ट आन्दोलनमा वामदेव गौतम चर्चामा रहने पात्र हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक चलिरहँदा उनी फेरि एक पटक चर्चामा आएका छन् । तत्कालीन नेकपा एमाले र माले पार्टी विभाजित हुँदादेखि नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदासम्म वामदेव गौतमको हात छ ।

पछिल्लो पटक पार्टी एकीकरणले मूर्तरुप पाउँदा गौतमले धेरै वर्ष पुरानो सपना पूरा भएको बताएका थिए । हाल पार्टी एकीकरणलाई पूर्णता दिन भइरहेको स्थायी कमिटी बैठकमा छुट्टै प्रतिवेदन पेश गरेर वामदेव गौतम फेरि चर्चामा आएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नजिक सम्बन्ध रहेको मानिने गौतमले पार्टी एकीकरणमा महत्त्वपूर्ण र निर्णायक भूमिका खेलेका हुन् । तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएपछि माओवादीसँग भएको भद्र सहमति कार्यान्वयन नगरेको र प्रचण्डलाई ९ महिनापछि प्रधानमन्त्री नबनाएको भन्दै गौतमले सार्वजनिक आलोचना समेत गरेका थिए ।

निर्वाचन पराजयदेखि सांसद बन्ने कोसिससम्म वामदेव गौतम लगायतका नेताको कोसिसपछि प्रतिनिधिसभा निर्वाचनअघि तत्कालीन एमाले र माओवादीबीच चुनावी गठबन्धन भएको थियो । वाम गठबन्धनका कारण दुवै पार्टीका उम्मेदवार निर्वाचन जित्नेमा ढुक्क थिए । तर ढुक्क हुँदाहुँदै पनि वामदेव गौतमका लागि अप्रिय परिणाम आयो । बर्दियाबाट चुनाव लडेका गौतम पराजित भए । वाम गठबन्धनका सूत्रधार गौतम पराजित हुनु दुवै पार्टीका लागि झड्का थियो । चुनाव पराजित भएपनि गौतम त्यतिबेला चर्चामा छाए । त्यसपछि वामदेव गौतमले सांसद बन्न विभिन्न उपाय खोजिरहेका छन् । वामपन्थी सांसदलाई राजीनामा गराएर उपनिर्वाचनमार्फत् सांसद बन्ने राजनीतिमा गौतम छन् ।

काठमाडौंबाट निर्वाचित सांसद रामविर मानन्धरले गौतमका लागि सांसद पदबाट राजीनामा दिनेसम्मको घोषणा गरे । तर पार्टी सचिवालयले अनुकूल नदेखेपछि उपचुनाव र गौतमलाई सांसद बनाउने योजनामा ब्रेक लगाइदियो । काठमाडौंको कोसिसअघि पनि गौतमले धेरै क्षेत्रका सांसदसँग छलफल गरेका थिए । प्रचण्डको प्रतिवेदनमाथि छुट्टै प्रतिवेदन वामदेवले सांसद बन्न खोजेको र प्रचण्डले उक्साएको भनेर उतिबेला चर्चामा आउने गरेको थियो । प्रचण्डसँग वामदेवको पूरानै सम्बन्ध भएका कारण सामान्य अनुमान स्वभाविक पनि हो । तर चालू स्थायी कमिटी बैठकमा प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि वामदेव गौतमले छुट्टै प्रतिवेदन प्रस्तुत गरेका छन् ।

अध्यक्ष द्वय ओली र प्रचण्डले संयुक्तरुपमा तयार पारेको प्रतिवेदनमाथि पुरक प्रतिवेदन पेश गरेर नेता गौतम प्रचण्डको लाइन विपरीत उभिएको देखिएको छ । ओली–प्रचण्ड एक ठाउँमा भएर पार्टी एकीकरणलाई मिलाइरहेका बेला सचिवालयमा रहेका केही नेता हप्तौंदेखि नेतृत्वको आलोचना र खबरदारीमा उत्रिएका छन् । प्रदेश कमिटी चयनदेखि जिम्मेवारी बाँडफाँडमा आफू पक्षीय नेताले स्थान नपाएको भनेर वरिष्ठ नेता माधवकुमार नेपालसहित केही शीर्ष नेता असन्तुष्ट समेत रहेका छन् ।

वामदेव गौतमले प्रतिवेदनमा पार्टी संगठनलाई क्रियाशील बनाउन, सरकारका कामकारवाहीलाई प्रभावकारी बनाउन र विवादित विषयबाट सरकार र पार्टीलाई टाढा राख्न सुझाव दिएका छन् । आलोचनात्मक तरिकाले तयार भएको नेता वामदेव गौतमको प्रतिवेदनका विषयमा बैठकमा सुधारात्मक तरिकाले छलफल हुने अपेक्षा गरिएको छ । पार्टीमा सुधारभन्दा पनि आफूले राखेका माग नेतृत्वले पूरा नगरेपछि आलोचनाका लागि आलोचना गर्न नेता गौतमले छुट्टै प्रतिवेदन पेश गरेको तर्क गर्नेहरू पनि छन् । नेता गौतमले उपचुनावमार्फत् सांसद बनाउन र विकास प्राधिकरण स्थापना गरेर त्यसको नेतृत्व दिन नेतृत्व समक्ष माग राखेको चर्चा समेत हुने गरेको छ ।

समयमै सचिवालय बैठक शुरू नभएको भन्दै वामदेव गौतमसहित पूर्वप्रधानमन्त्री द्वय माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नाराययणकाजी श्रेष्ठ बैठक छाडेर वालुवाटारबाट बाहिरिएका थिए । थुप्रै चर्चाबीच स्थायी कमिटी बैठक चलिरहँदा नेता गौतम फेरि चर्चामा आएका छन् । गौतमले पेश गरेको छुट्टै प्रतिवेदन सबै स्थायी कमिटी सदस्यलाई अध्ययनका लागि दिइएको छ भने सोमबार हुने बैठकमा त्यसबारे छलफल हुनेछ । एकता टुंगोमा नपुग्दै नेता गौतमले लिखित रुपमै फरक विचार दिन थालेपछि नेकपाभित्र तरङ्ग फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement