काठमाण्डु – प्रधानमन्त्री पुष्पमकल दालाल ‘प्रचण्डले’ प्रधानमन्त्री बनाएकोमा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आफूले आभार व्यक्त गरेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने, ‘मैले तपाईंलाई दुईचोटी प्रधानमन्त्री बनाएको थिएँ। तपाईंले मलाई ब्याज दिनुपर्ने थियो, ऋण तिर्नुपर्ने थियो। तपाईंले तिर्नुभयो। अझै एउटा बाँकी छ। एउटा त तिर्नुभयो। एउटा बाँकी छ। हिसाब राख्नुहोला’, उनले भने।
त्यस्तै आफू प्रधानमन्त्री खोज्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट नगएको बताए। ‘तपाईंहरुले (एमाले नेताहरूले) केही समयदेखि बल गर्दै हुनुहुन्थ्यो आइदिए हुन्थ्यो भनेर । मचाहिँ यतै (कांग्रेस नेतृत्वको गठबन्धनतिर) बल गर्दै थिएँ। म यही गठबन्धन बढी नेचुरल छ, यतै बल गर्दै थिएँ, अन्तिम समयमा पनि। त्यसकारण म खोज्दै गयो भन्नुभयो भने त्यो सत्य होइन’,उनले भने।
प्रचण्डले आफूलाई एमालेबाट बोलाइएको बताए। ‘अनेक गरेर बोलाउनुभयो। के के गर्नुभयो, अहिले म भन्दिनँ। तपाईंहरुले कांग्रेसलाई के भन्नुभयो, मलाई के भन्नुभयो, अर्को मेरो साथीलाई के भन्नुभयो, बोलाउनु तपाईंहरुले भयो। बाइ द वे, म जानुपर्ने परिस्थिति बन्यो, गएँ’, उनले भने।




प्रतिक्रिया