प्रचण्ड भन्छन् -परिस्थिति अनुकूल रहे फेरि प्रधानमन्त्री बन्छु

प्रचण्ड भन्छन् -परिस्थिति अनुकूल रहे फेरि प्रधानमन्त्री बन्छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व आलोपालो गर्ने भन्ने विषयमा आफूले बोलेको कुरा नयाँ नभएको बताएका छन्। शनिबार विराटनगरमा अध्यक्ष प्रचण्डले देशको परिस्थिति अनुकुल रहे एक वर्षपछि पूर्व सहमतिका आधारमा आफू प्रधानमन्त्री बन्ने बताएका हुन् ।

‘एक वर्षपछि प्रधानमन्त्री बन्ने विषय पार्टीले सहमति र निर्णय गर्ने विषय हो । तर परिस्थिति कस्तो विकास हुँदै जान्छ, त्यसमा पनि निर्भर हुन्छ । पार्टी एकताको बेलामा ऐतिहासिक रुपमा जे सहमति गरेका छौँ । त्यसलाई हामी इमान्दारिता साथ कार्यान्वयन गर्दै लान्छौँ, ’उनले भने । प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद चार पाँच दिन मात्रै बाँकी रहेको भन्दै दिएको प्रतिक्रिया प्रतिकात्मक भएको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी काठमाडौँ फर्कनु अघि दिल्लीमा प्रधानमन्त्री केपी ओलीले ‘मेरो कार्यकाल, एक वर्ष हैन । चार–पाँच दिन मात्रै बाँकी छ । अब म के भनौँ ?’ भनेका थिए । यता अध्यक्ष प्रचण्डले पार्टी एकताका बेला भएको सहमतिको स्मरण मात्र गराए भन्दै बाहिर प्रचार र होहल्ला गर्नुपर्ने नयाँ विषय नभएको बताए ।

पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफूले एक टेलिभिजनमा अन्तर्वार्तामा बोलेको कुरालाई अनावश्यक ढंगले प्रचारबाजी गरिएको समेत बताए । ‘मैले टेलिभिजन अन्तर्वार्तामा बोलेको कुरा कुनै नौलो विषय होइन्’, उनले भने, ‘यो विषयलाई धेरै उचाल्नु जरुरी छैन।’ अध्यक्ष प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा सहमति भएको र आफूले त्यही सहमतिमा आधारित रहेर बोलेको प्रस्ट पारे। उनले मिडियालाई यो विषयलाई बढी नउचाल्न आग्रह समेत गरे। उनले प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच अहिले पनि सुमधुर सम्बन्ध रहेको दावी गरे।