सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली छ : प्रधानमन्त्री दाहाल

सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली छ : प्रधानमन्त्री दाहाल


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताएका छन् ।

२८५९ औँ साेनाम ल्होसारको अवसरमा काठमाडौंको टुंडिखेलमा आयोजित समारोहलाई सम्बाेधन गर्दै प्रधानमन्त्रीले भने, ‘आजबाट सुरू भएको तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिहरूको राष्ट्रिय ल्होछार पर्व-२८५९ ह्योई/तावर ल्हो (बिरालो वर्ष) को पावन अवसरमा देशविदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी दाजुभाइहरू सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।’

उनले नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल भएकाे बताए । ‘यहाँ १२५ जातजाति, १२३ भाषाभाषी र १० भन्दाबढी धर्म मान्ने समुदाय बसोबास गर्दछन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यहाँ बसोबास गर्ने सबै जाति-जातजातिको आ—आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका छन् । यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो। यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो।’

प्रधानमन्त्रीले थपे, ‘नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो। यो ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो। मानव जातिले पशुपालन र कृषिको शुरुवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो। यही पद्धति अंगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरू हुन्छ भन्ने मान्दछ। कृषिको थालनीसँगै विकास भएकोले यो पर्वलाई सोनाम (किसानहरूको) ल्होछार पनि भन्दछन्।’

प्रधानमन्त्री प्रचण्डले ल्हो को अर्थ साल, सम्वत्, वर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष रहेकाे र यो परम्परामा विभिन्न बाह्र वटा पशुपंछीको नामबाट १२ ल्होको नाम राखिएको बताए । उनले भने, ‘बाह्र बर्षको चक्र बनाइन्छ । बाह्र ल्हो मध्ये प्रत्येक बर्ष एक–एकवटा ल्हो फेरिन्छ। ल्हा (बर्ष) सँग खाम (पाँच तत्व) हरू — आगो, पानी, माटो, फलाम, काठ, सँग जोडिएका हुन्छन्। यही ल्हो फेरिने दिनलाई तामाङ समुदायले ल्होछार पर्वको रुपमा मान्दै आएका छन्।