अध्यक्ष दाहालद्वारा पण्डितप्रति श्रद्धाञ्जलि

अध्यक्ष दाहालद्वारा पण्डितप्रति श्रद्धाञ्जलि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताएका दिवङ्गत वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको पार्थिव शरीरमा पुष्पहार चढाइ श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज अध्यक्ष दाहालले उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका हुन् । सो क्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङलगायत नेता तथा कार्यकर्ताले उनको पार्थिव शरीरमा पुष्पगुच्छा चढाइ श्रद्धाञ्जलि अर्पण गरे ।

फागुन २१ गते नुवाकोटको एक पूजा कार्यक्रममा सरिक हुन जाने क्रममा हृदयघातबाट गम्भीर घाइते भएका ७२ वर्षीय पण्डितको उपचारका क्रममा निधन भएको थियो । दिवङ्गत नेता पण्डितका जीवनसङ्गिनी सावित्रीसहित, छोरा राजकुमार, किशोर र दिनेश तथा छोरी कल्पना, सफला र सुलोचना रहेका छन् ।

उनी पुष्पलाल स्मृति प्रतिष्ठानका केन्द्रीय सदस्यसमेत रहेका थिए । विसं २०४८ को आमनिर्वाचनमा नुवाकोट–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित उनी असल शिक्षक र सङ्गठकका रूपमा परिचित रहेका थिए । ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय उपाध्यक्षसमेत रहेका पण्डित २०४२ सालका बमकाण्डमा गिरफ्तारमा परेका थिए । पछिल्लो समय उनी पार्टीमा निष्क्रिय रहेका थिए । आफ्नै परम्परा र संस्कृतिअनुसार उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएका छन् ।