किसानको छोरो हुनुको नाताले कृषिमा क्रान्ति गर्नु पर्छ भन्ने सोचेर राजनीतिमा होमिएँ : प्रचण्ड

किसानको छोरो हुनुको नाताले कृषिमा क्रान्ति गर्नु पर्छ भन्ने सोचेर राजनीतिमा होमिएँ : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित अर्थतन्त्र र उद्योगबाट मात्रै आर्थिक समृद्धिको नयाँ युगको सूत्रपात हुने बताएका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयले रामपुर चितवनमा आयोजना गरेको कृषि मेलाको शनिबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, यस्तो बताएका हुन् ।

‘जबसम्म कृषिमा आधारित उद्योगहरु स्थापना गर्ने कुरा अगाडि बढ्दैन, बेरोजगारीको समस्याको समाधान पनि हुँदैन’ उनले भने, ‘कृषिमा आधारित अर्थतन्त्र र कृषिमा आधारित उद्योगले मात्रै हामीले नेपालको आर्थिक क्रान्ति वा आर्थिक समृद्धिको नयाँ युगको सूत्रपात गर्न सम्भव छ।’

नेपालमा कृषिको विविधिकरण, आधुनिकीकरण, विज्ञान र प्रविधिको यसमा सदुपयोग गरेर तीन करोड होइन, दस करोड जनालाई खान पुग्ने खाद्यान्न उत्पादन गर्न सकिने तागत नेपालको जमिन र नेपाली किसानहरुमा रहेको पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डको भनाइ थियो।  प्रचण्डले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई नेपालको विशिष्ट, उत्कृष्ट र दक्षिण एसियाको नमुना विश्वविद्यालय बनाउनु पर्नेमा जोड दिए।

‘नयाँ संकल्पका साथ उत्पादन वृद्धि र रोजगारी सृष्टिको साथ नयाँ अभियानका रुपमा अगाडि लैजान जरुरी छ’ उनले भने, ‘सरकारले आफ्नो नीति तथा कार्यक्रमबाट कृषिमा सुधारका काम गरिरहेको छ।’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना त्यसको एउटा उदाहरण भएको उनको भनाइ थियो। ‘हिजो मैले कृषिमा स्नातक गर्दा यही अगाडिको रामपुर कलेजबाट गरेँ’ पुराना दिन सम्झँदै अध्यक्ष प्रचण्डले भने, ‘त्यतिबेला दस कठ्ठामा धानखेती गरेको थिएँ। मैले ट्याक्टर चलाउन सिकेको यही कृषि कलेजमा हो। सामान्य किसानको छोरो हुनुको नाताले कृषिमा क्रान्ति गर्नु पर्छ भन्ने सोचेर राजनीतिमा होमिएँ।’

संविधान सभाको पहिलो निर्वाचनपछि प्रधानमन्त्री बनेका बेला आफूलाई रामपुर क्याम्पसलाई कृषि विश्वविद्यालय बनाउनु पर्छ भन्ने सोच आएको र त्यसै अनुरुप काम अगाडि बढाएको उनले बताए।

अध्यक्ष प्रचण्डले कार्यक्रममा सम्मानित कृषकहरुलाई बधाई दिँदै कृषि मेलाको सफलताको शुभकामना दिए। शनिबारदेखि सुरु भएको मेला मंगलबार समापन हुनेछ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलोपटक कृषि लाको आयोजना गरेको हो ।