काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्युत गरेर नयाँ सरकार बनाउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तीब्र आकांक्षा नयाँ वर्षको बिहान पनि छचल्कियो ।
नयाँ वर्षको शुभकामना सन्देशमा प्रचण्डले लेखेका छन्, ‘प्रतिक्रियावादी षड्यन्त्र चकनाचुर पार्न, देशलाई अग्रगतिमा लैजान र जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न नयाँ सरकार गठन अपरिहार्य भएको छ । प्रतिगामी कदमविरुद्ध संघर्षरत सबै पक्षहरूलाई संघर्षका निम्ति मोर्चा बनाई एकतावद्ध पहलकदमीका साथ नयाँ सरकार निर्माणका लागि एकजुट हुन आह्वान पनि गर्दछु ।’
प्रचण्डले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको नयाँ घटनाक्रम होइन । नेकपा एकै हुँदा पार्टीभित्र लामो समय अन्तर्संघर्ष चल्यो, जसको प्रमुख कारण थियो – प्रचण्डले ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्न खोज्नु । तर प्रचण्ड सफल भएनन् ।
पार्टीभित्र विवादकै बीच प्रतिनिधिसभा विघटन भएर सर्वाेच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरेपछि प्रचण्ड प्रधानमन्त्री बन्नकै लागि संसदमा बहुमतप्राप्त दल नेकपा संसदीय दलको नेता समेत चुनिए । तर फागुन २३ गते सर्वाेच्च अदालतले नेकपा एकता बदर गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि प्रचण्ड आफू प्रधानमन्त्री हुने दौडबाट बाहिरिएका छन् ।
आफू प्रधानमन्त्री हुने दौडबाट बाहिरिएपनि ओलीलाई हटाउने प्रमुख लक्ष्य लिएर प्रचण्ड अगाडि बढिरहेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने साझा कार्यभार प्रचण्डले बोकेका छन् । प्रचण्डलाई सघाइरहेका छन्, जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई ।
अध्यक्ष डा. भट्टराईले नयाँ वर्षको शुभकामना दिँदै ट्विटरमा लेखेका छन्, ‘ वि.सं. नयाँ वर्ष २०७८ ले कोभिड–१९ र आधुनिक भष्मासुरबाट सबैलाई मुक्ति देओस् ! सबैको जीवनमा सुख, शान्ति, समृद्धि छाओस् ! हार्दिक शुभकामना !’ भट्टराईले ‘आधुनिक भष्मासुर’ भनेर प्रधानमन्त्री ओलीतर्फ लक्षित गर्ने गरेका छन् ।
अध्यक्ष भट्टराईले धेरै पहिलेदेखि नै ओलीलाई हटाउनुपर्ने विचार राख्दै आएपनि नयाँ सरकार गठनको बाधा उनकै पार्टी जसपाबाट देखिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री बन्न तयार भइसकेका र प्रचण्डले देउवालाई समर्थन गरिसकेको अवस्थामा डा. भट्टराईकै पार्टी अनिर्णित हुँदा नयाँ सरकार गठन अनिश्चित बनेको छ । आफू अध्यक्ष रहेको जसपा सम्हाल्न नसकेका डा. बाबुराम सरकार नै फेर्नेतिर लागेका छन् भने बाबुरामको भरोसामा परेका प्रचण्ड लगातार धोका खाइरहेका छन् ।
जसपाको समर्थन विना नयाँ सत्ता समीकरण बन्न सक्दैन । तर जसपा नयाँ सत्ता समीकरण निर्माणमा एकमत देखिँदैन । अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीलाई हटाएर नयाँ सरकार बनाउनुपर्ने पक्षमा छन् भने अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री ओलीसँग नै वार्ता र छलफल गरिरहेका छन् ।
संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक र मुद्दा फिर्ता लगायतका माग प्रधानमन्त्री ओलीले नै पूरा गर्नसक्ने बुझाइमा रहेका ठाकुर र महतोले तत्कालै नयाँ गठबन्धनमा सहभागी हुने संकेतसम्म दिएका छैनन् । जसपाभित्र ठाकुर र महतोको बहुमत रहेको तथा भट्टराई र यादव अल्पमतमा रहेका स्रोतले जनाएको छ । पार्टीभित्रै अल्पमतमा रहेका बाबुराम नयाँ सरकार बनाउन दौडिरहेका छन् भने प्रचण्डले अल्पमतका बाबुरामलाई पत्याएर धोका खाइरहेका छन् ।
‘बाबुरामजीसँग सरकार बनाउन पर्याप्त सांसद छैनन्, पार्टीभित्रै अल्पमतमा छन्,’ जसपाका एक केन्द्रीय नेताले भने, ‘बाबुरामजी ओलीविरुद्ध व्यक्तिगत रूपमै उत्रिने गरेका छन्, तर ओलीलाई हटाउनसक्ने शक्ति बाबुरामजीसँग छैन ।’ जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो राजी नभएसम्म नयाँ सरकार बन्न नसक्ने उनले बताए । तर बाबुराम ठाकुर र महतोलाई फकाउन छाडेर प्रचण्ड र देउवालाई भेटवार्तामा सक्रिय देखिन्छन् ।
२०७७ सालको अन्तिम दिन मंगलबार समेत डा. बाबुराम र उपेन्द्र सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । भेटमा बाबुराम–उपेन्द्रले नयाँ सरकार बनाउन तयार रहन देउवालाई आग्रह गरे । तर देउवाले जसपा एकमत नभएको र बहुमत नपुग्ने खतरा रहेको जानकारी बाबुरामलाई गराए । त्यसपछि देउवा र प्रचण्डबीच मंगलबारै भेटवार्ता भएको समेत सार्वजनिक भएको छ ।
नयाँ सरकार बनाउन दौडधुप खुबै चलिरहेका बेला प्रचण्ड र बाबुरामसँग सरकार निर्माणको शक्ति देखिँदैन । बाबुराम त पार्टीकै अल्पमतमा रहेको देखिन्छ । बाबुरामले ओलीलाई प्रधानमन्त्रीबाट हटाउने र नयाँ सरकार बनाउने निर्णय पार्टीभित्रै गराउन सकेका छैनन् । तर बाबुराम सामाजिक सञ्जाल र अन्य पार्टीसँगको भेटवार्तामा भने सक्रिय देखिएका छन् ।




प्रतिक्रिया