प्रचण्डले ‘हेग हल्ला’ फैलाइनुको भित्रि रहश्य बुझेपछि …..

प्रचण्डले ‘हेग हल्ला’ फैलाइनुको भित्रि रहश्य बुझेपछि …..

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – १० वर्षे सशस्त्र द्वन्द्वको सुरक्षित अवतरण गर्न शान्ति प्रक्रिया शुरू भएदेखि नै सुनिने नाम हो – अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘हेग’ । द्वन्द्वका पक्षलाई हेग पुर्‍याउने भन्ने हल्ला अनेक पटक चल्दै आएको छ ।

तत्कालीन सशस्त्र द्वन्द्वको नेतृत्वकर्ता भएका नाताले हेगको हल्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बढी मुछ्ने गरिएको छ । मानवअधिकारको वकालतका नाममा सञ्चालित विदेशी रकममा परिचालित संघसंस्थाले हेगको प्रसंग र चर्चालाई बढावा दिने गरेका छन् ।

पछिल्ला केही महिनादेखि फेरि हेगको हल्ला चुलिँदै गएको छ । सशस्त्र द्वन्द्वमा सहभागी भएका बाल लडाकू लेनिन विष्टले हेगको प्रसंगलाई बढी उठाइरहेका छन् । उनले हेगको मुख्यालयमा पुगेर मुद्दा प्रक्रियाबारे परामर्श समेत गरेको चर्चा चलेको छ ।

हेगको मुख्यालय पुगेर काठमाडौं फर्किएका विष्टले केही नेकपा नेतालाई भेट्ने र प्रचण्डविरुद्ध हेग हल्ला र त्रासको खेती गर्ने गरेका घटनाक्रम देखिएका छन् तर प्रचण्डले त्यसलाई सामान्य हल्लाको रुपमा लिएको संकेत गरेका छन् । उनले त्यसलाई मजाकको रुपमा उठाइदिने गरी दिएको अभिव्यक्ति हाल चर्चामा छ ।

प्रचण्डले के भने ?

प्रचण्डले आफ्नो निजी निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै भने, ‘मलाई हेग लगे भने त म विश्वको हिरो हुन्छु, त्यो त मेरो लागि गर्वको कुरा हुन्छ । मलाई लाग्दैन यिनीहरूले लान्छन् र मलाई विश्वको हिरो बनाउँछन् भन्ने मलाई लाग्दैन ।’

विप्लव समूह परित्याग गरी नेकपामा प्रवेश गर्ने ब्यूरो सदस्य तथा बारा जिल्लाका पूर्व सचिव रमण घिमिरे लगायतका नेता तथा कार्यकर्तालाई सोमबार पार्टीमा स्वागत गर्दै प्रचण्डले आफूलाई कसैले पनि हेग नलैजाने र हल्ला मात्रै गर्ने गरेको स्पष्ट पारे । पार्टीका उपल्लो तहसँगको छलफलमा उनले हेग हल्लाबारे आफ्नो धारणा सार्वजनिक गरेपछि राजनीतिक वृत्तमा बहसको विषय बनेको छ ।

‘हेगमा लाने अरे प्रचण्डलाई । अन्तर्राष्ट्रिय अदालतमा लगेर झुण्ड्याउने रे भनेर पनि लेख्या हुन्छन् । १ दिन भएपनि जेल हाल्नुपर्छ भन्छन् । १३ हजार मान्छे मारेको, स्कूल भत्काको । मन्दिर भत्काकोलाई राजनेता मान्ने भनेर लेखेको छ । यो डिजाइन अनुसार भइरहेको छ,’ उनले भने, ‘हेग लगे भने विश्वको हिरो भएर निस्किन्छु । संसारभरिको जनतालाई न्यायको पक्षमा रहेछ, शान्तिको पक्षमा रहेछ भन्ने ठाउँ हुन्छ । त्यो त मेरो लागि गर्वको कुरा हुन्छ ।’

अन्तर्राष्ट्रिय मुद्दा लगाएर हेग लैजाने कुरामा प्रचण्ड रत्तिभर पनि चिन्तित देखिएनन् । उनले खुलेरै हेगको हल्लालाई मजाकको विषय बनाए र अरु आफूलाई हेग लगे आफू हिरो हुने चर्चा गरे ।

हेग हल्लाको भित्रि रहश्य के हो ?

हेगको हल्ला वर्षाैदेखि चलिरहेको र त्यसलाई कसैले पनि सफल पार्न नसकेको अवस्थामा प्रचण्डले त्यो हल्लालाई विश्वास गर्न छाडेको देखिएको छ तर हेग हल्लाको पछाडि स्वदेशभित्रै अर्कै षड्यन्त्र भइरहेको चाहिँ प्रचण्डले खुलासा गरेका छन् । उनले हल्ला पछाडिको षड्यन्त्र बुझेर मुख खोलका छन् ।

द्वन्द्वकालीन कुरालाई कोट्याएर नेतृत्व र गणतन्त्रलाई बद्नाम गराउने तथा पुरानै सत्ता उल्ट्याउन खोज्ने षड्यन्त्र स्वरुप हेगको हल्ला चलाउने गरिएको प्रचण्डको संकेत छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन पाए हुन्थ्यो भनेर प्रतिक्रियावादी लागेका छन् । त्यसका लागि नेताहरूलाई बद्नाम गर्न, सिध्याउन पाए हुन्थ्यो भनेर षड्यन्त्र र प्रचार गर्ने कोसिस गर्ने गरेका छन्,’ उनले भने ।

हेग हल्लाको सम्बन्ध विदेशमा नभएर स्वदेशमै जनतामाझ वितृष्णा पैदा गर्ने र नेतृत्वलाई बद्नाम गर्ने उद्देश्यका साथ भइरहेको प्रचण्डले स्पष्ट पारेका छन् । नेतृत्वविरुद्ध षड्यन्त्र गरेर बद्नाम गर्न खोजेपनि गणतन्त्र, संघीयता, समानुपातिक, समावेशिता रहँदासम्म कोही पनि कमजोर नहुने प्रचण्डको जिकिर छ । ‘हामीलाई जहाँ लगेपनि हामी हिरो,’ उनले भने, ‘गणतन्त्र नै उल्टियो भने त नेपालले दुःख पाउने, नेपालै खतरामा हुने हुन्छ ।’

अन्तर्राष्ट्रिय अधिकारवादी संघसंगठनको चासो 

प्रचण्डले हेग हल्लामा प्रतिक्रिया जनाएपछि अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंगठनले समेत प्रतिक्रिया जनाएका छन् । एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच, इन्टरनेसनल कमिसन अफ जस्टिस, ट्रायल इन्टरनेसनलले संयुक्त वक्तव्यमार्फत शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका मुद्दा टुंग्याउन खबरदारी गरेका छन् । यसअघि समेत अन्तर्राष्ट्रिय संघसंगठन र विदेशी राजदूतहरूले चासो र प्रतिक्रिया जनाउने गरेका छन् ।

नेपाल सरकारले द्वन्द्वकालीन मुद्दामा न्याय दिन नसकेको निष्कर्षसहित जारी वक्तव्यमा सरकारलाई खबरदारी गरिएको छ । द्वन्द्वकालीन मुद्दाको निरुपण गर्ने उद्देश्यसहित गठन गरिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजबिन आयोगको कामकारवाही समेत रोकिएको अवस्थामा सबैतिर चिन्ताको विषय बनेको छ । यसैबेला अन्तर्राष्ट्रिय संघसंस्थाले समेत वक्तव्यवाजी गर्ने मौका पाएका छन् ।

हेग हल्ला र विदेशी संघसंस्थाको चासोभन्दा पनि सरकार र राजनीतिक नेतृत्वले द्वन्द्वकालीन मुद्दाका विषयमा संवेदनशील भएर यसलाई टुंग्याउनेतिर ध्यान दिनु अपरिहार्य पक्ष हो । द्वन्द्वकालीन मुद्दा आन्तरिक समस्या र चासोको विषय भएको जगजाहेर नै छ ।