काठमाडौं- जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले गत शुक्रबार डीएसपी एकनारायण कोइरालालाई जिम्मेवारी सुम्पेर रमाना बुझे । प्रहरी संगठनको ‘चेन अफ कमाण्ड’लाई नै चुनौती पुग्ने गरी विकसित भइरहेका घटनाक्रमले शुक्रबार नै विश्राम पायो । प्रहरी प्रधान कार्यालयले गरेको सरुवा अनुसारै एसपी मल्ल चितवन जिल्ला छाडेर खटाइएको ठाउँमा गएपनि केही हप्ता एसपी सरुवाको विषयमा देखिएको विवादको भित्रि कारणबारे तथ्यहरू खुलिसकेका छैनन् ।
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा उनकै पूर्व निजी सुरक्षा अधिकृत एसपी मल्ल नेतृत्वमा रहेको बेला पुस ४ गते सरुवा सूची जारी भयो । सरुवा हुने समय नआउँदै चितवन गएको ८ महिनामै मल्लको सरुवा हुनु र सरुवाले प्रचण्डलाई नै चिढ्याएको देखिनुले केही हप्ता सुरक्षा संयन्त्रभित्र तरङ्ग नै उत्पन्न भयो ।
आईजीपी खनालले प्रचण्डलाई चिढ्याउन खोजे ?
नेकपाको राजनीतिक, गृह प्रशासन र प्रहरी संगठनको नेतृत्वलाई तरङ्गित पार्ने गरी घटनाक्रम विकसित हुनुका तीन कारण थिए – पहिलो, सरुवाबारे प्रचण्डसँग परामर्श नहुनु, दोस्रो, प्रचण्डसँग परामर्श भएको भनेर आईजीपीले गृह नेतृत्वलाई ढाँट्नु र तेस्रो, प्रचण्डको आलोचना गर्ने गंगा पन्तलाई उनकै गृहजिल्लाको नेतृत्व सुम्पिनु । जिल्ला प्रहरी प्रमुखको सरुवा र खटनपटनको मुख्य जिम्मेवारी आईजीपीकै हो । तर पूर्व प्रधानमन्त्री र राष्ट्रिय राजनीतिमा सक्रिय व्यक्तिको गृहजिल्लाको प्रहरी नेतृत्व परिवर्तन गर्दा राजनीतिक परामर्श समेत लिने गरिन्छ । आईजीपी खनालले मल्लको सरुवा गर्दा प्रचण्डसँग परामर्श त गरेनन् नै, गृह नेतृत्वलाई ढाँट्ने काम पनि गरे ।
गृह मन्त्रालय स्रोतका अनुसार सरुवा सूची प्रकाशन हुनुअघि प्रेमकुमार राईले मल्लको सरुवाबारे प्रचण्डसँग परामर्श भयो\भएन भनेर सोधेका थिए । जवाफमा आईजीपी खनालले परामर्श भइसकेको बताएका थिए । । सरुवा सूची सार्वजनिक भएपछि प्रचण्डले चांसो व्यक्ति गरेपछि आईजीपीले उनिसंग परामर्श नगरेको खुल्यो । आईजीपी खनालले गृह सचिवलाई समेत ढाँटेको देखियो । प्रचण्डको विरुद्ध सामाजिक सञ्जालमा अभद्र प्रतिक्रिया जनाउने गंगा पन्तलाई चितवन पठाइएका कारण पनि प्रचण्ड निकटका व्यक्तिहरू बढी चिढिए । एसपी गंगा पन्त नेविसंघ पृष्ठभूमिबाट प्रहरी संगठनमा आएकी र सेवामा रहँदा नै प्रचण्डप्रति अभद्र टिप्पणी गरेका कारण उनलाई प्रचण्ड टीमले रुचाएन । त्यसैले त पन्तको सरुवा भएपछि एकथरी समुह उनको खुलेरै विरुद्धमा लाग्यो । यद्यपी पन्तको प्रहरीभित्र व्यवसायीक छवी छ ।
आईजीपी खनालले बिर्सिएको त्यो ‘गुन’
जतिबेला सर्वेन्द्र खनाल आईजीपी बन्ने दौडमा थिए, त्यतिबेला प्रचण्डले उनलाई दह्रो साथ दिएका थिए । प्रचण्डकै अडान र साथका कारण खनाल आईजीपी बन्न सफल भएको चर्चा प्रहरी संगठनमा अहिले पनि चल्ने गरेको छ । तर खनालले संगठनबाट अवकाश पाउनु केही हप्ताअघि प्रहरी नेतृत्वमा पु¥याउन सहयोग गर्ने प्रचण्डलाई नै चिढ्याउने गरी सरुवा सूची किन प्रकाशित गरे ? यो रहस्य गर्भमै छ ।
गृहजिल्ला चितवनमा षड्यन्त्रको शंका हुने गरी एसपी परिवर्तन गरिँदा प्रचण्डले आईजीपी खनालबाट धोका पाएको चर्चा प्रहरी र नेकपा वृत्तमा चलेको छ । प्रचण्डले मात्रै धोका पाएनन्, एसपी मल्लले लगाएको ‘गुन’ समेत खनालले बिर्सिए ।
खनाल आईजीपीको दौडमा रहेका बेला उनलाई प्रचण्डसँग भेट्न पहुँच दिने र खनाललाई राजनीतिक समर्थन मिल्ने गरी एसपी मल्लले भूमिका खेलेका थिए । जसले गर्दा उनको आईजीपी हुने सम्भावनाले पूर्णता पाएको थियो । तर आईजीपीबाट अवकाश पाउनुअघि खनालले त्यो ‘गुन’ बिर्सिएर मल्ललाई अप्ठ्यारोमा पार्ने कदम चालेका छन् ।
सुरक्षित अवतरणलाई नै चुनौती
प्रचण्डसँग परामर्श नगरी एक वर्ष नै नपुगी मल्लको सरुवा भएको पाइएपछि गृह मन्त्रालयका अधिकारीले मल्ललाई चितवनमै थमौती गर्ने आन्तरिक सहमति गरे । जसमा आईजीपी खनाल समेत एकछिन सहमत भए । तर उनी भित्रैदेखि सहमत नभएको त्यतिबेला थाहा भयो, जतिबेला प्रदेश ३ प्रहरी कार्यालयबाट मल्ललाई १२ घण्टे पत्र प्रेषित भयो ।
गृह प्रशासनको सुरक्षित अवतरणलाई चुनौती दिँदै आईजीपी खनालले प्रदेश प्रहरी कार्यालयमार्फत् पत्र पठाउन लगाएपछि आईजीपी खनालको ‘नियत’ प्रस्ट भएको प्रचण्ड निकट स्रोतको दाबी छ । बाहिर जस्तोसुकै देखिएपनि आईजीपी खनालले मल्ललाई चितवनबाट सरुवा गराएरै छाड्ने अडान लिएपछि मल्ल सरुवा हुन बाध्य भए । खनाल आईजीपी हुँदा प्रचण्डसँग रहेको निकट सम्बन्ध अवकाश पाउनैलाग्दा विकट बनेको देखिएको छ ।




प्रतिक्रिया