काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्नका लागी निर्णायक छलफल सुरु गरेका छन् । एमसीसी सम्झौतालाई फागुन १६ भित्र संसदबाट अनुमोदन गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवाले शनिवार सत्तारुढ दलका नेताहरु र प्रतिपक्ष दल एमालेसंग छलफल गर्दैछन् । त्यो भन्दा पहिले उनले पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफल गरेका छन् ।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले उपभासभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतसँग छलफल गरेका हुन । प्रधानमन्त्री देउवा आफ्नो टिमसहित बालकोट जाने तयारी रहेको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उनलाई टेलिफोन गरेर आफु भेट्न आउन लागेका बताएको स्रोतले बतायो ।
प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीलाई २ बजे आफु बालकोट आउन लागेको जानकारी दिएका थिए । त्यसलगत्तै दाहालले टेलिफोन गरेर आफु माधव नेपालसहित बालुवाटार आउन लागेको भन्दै हतारमा निर्णय नगर्न आग्रह गरेका थिए । नेकपा माओवादी केन्द्रका प्रचण्डले अमेरिकी सहायता सम्झौता एमसीसीकै कारण पाँच दलीय सत्ता गठबन्धन नटुटोस् भनेर गम्भीर छलफल भइरहेको अभिव्यक्ति समेत दिएका छन् ।
जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा नेपाल दलित मुक्ति मोर्चाले शनिबार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी समस्या पनि समाधान हुने र गठबन्धन पनि नतोडिने उपायको खोजी भइरहेको बताएका थिए । तर, कांग्रेस सभापति भने एमालेसंग धेरै अगाडी बढिसकेको स्रोत बताउंछ ।
अमेरिकी सहयोग परियोजना एमसीसीलाई संसदबाट पारित गर्ने विषयमा सत्तारुढ दलभित्रै बिवाद बढेपछी प्रधानमन्त्री देउवाले एमालेको साथ खोजेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री देउवाबीच देशलाई नयां राजनीतिक कोर्समा अघि बढाउने सहमति भइसकेको उच्च राजनीतिक स्रोत बताउंछ ।
एमसीसीमा अमेरिकाले दिएको अल्टिमेटम सकिन जम्मा २ दिन बांकी छ । त्यो भन्दा अघि नै दलहरुबीच सहमति भइसक्नुपर्नेछ । अव कांग्रेस, नेकपा एमाले,जसपा र लोसपाबीच समिकरण बन्ने लगभग निश्चित भएको छ । दुबै दलका शिर्ष नेताहरुबीच यो विचमा धेरै पटक बैठक भइसकेको छ ।
शुक्रबार राति बालकोटमा भएको छलफलमा समेत दुवै पार्टी एक ठाउमा उभिन सहमत भइसकेका छन् । दुवै पार्टीका शिर्ष नेताहरु लोकतन्त्रका लागि लडेका शक्तिहरु मिल्नुपर्नेमा सहमत भएको नेताहरुले बताएका छन् । उनिहरुले आगामी रोडम्यापको खाका समेत तयार गरिसकेको बताइन्छ ।




प्रतिक्रिया