प्रचण्डको हारगुहार निरन्तर निरर्थक, त्यो धोकाले देउवाको मन मर्‍यो !

प्रचण्डको हारगुहार निरन्तर निरर्थक, त्यो धोकाले देउवाको मन मर्‍यो !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा संसद विघटन गरेर बैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसले तत्कालै पदाधिकारी र पूर्व पदाधिकारीको आकस्मिक बैठक राख्यो । बैठकले सरकारको कदम घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकूल बदनियतपूर्ण कार्य भएको निष्कर्ष निकालेको थियो ।

संसद विघटनको भोलिपल्ट पुस ६ गते नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बस्यो । नेपाली कांग्रेस, नेकपा प्रचण्ड–नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा) सहभागी सर्वदलीय बैठकमा संसद विघटन असंवैधानिक भएको समान निष्कर्ष निस्क्यो । तर संयुक्त आन्दोलन घोषणा हुन सकेन ।

नेपाली कांग्रेसले संसद विघटनको विरोध गर्दै आएको छ र त्यसविरुद्ध चरणवद्ध आन्दोलन गरिरहेको छ । आन्दोलनका बाबजुद पनि सभापति शेरबहादुर देउवाले सर्वाेच्च अदालतमा विचाराधीन विषय भएको अदालतको फैसलाको सम्मान गर्ने बताएका छन् ।

यसबीच प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खरो रूपमा प्रस्तुत भइरहेका पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले संयुक्त आन्दोलनका लागि कांग्रेसलाई झक्झक्याइरहेका छन् । तर कांग्रेस संयुक्त आन्दोलनका लागि किन सहमत हुन सकेको छैन ? यसका पछाडि ठूलो घटनाक्रम लुकेको कांग्रेस नेताहरू बताउँछन् ।

प्रचण्डको हारगुहार !

एक्लै आन्दोलन गर्दा प्रभावकारी हुने नदेखेपछि प्रचण्ड–नेपाल पक्षले कांग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त आन्दोलनका लागि हारगुहार गर्दै आएका छन् । पुस २९ गते नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नै देउवालाई भेट्न उनकै निवास पुगेका थिए । प्रचण्डले संसद पुनर्स्थापनाका लागि संयुक्त आन्दोलन गर्ने र पुनर्स्थापनापछि देउवा नै प्रधानमन्त्री हुने ‘अफर’ गरे । तर देउवा पत्याएनन् । देउवाले प्रचण्डको अफरलाई गम्भीर रूपमा लिएनन् ? देउवाले प्रचण्डको आकर्षक अफरलाई किन पत्याइरहेका छैनन् ? यसका पछाडि पुरानो घटनाक्रमले काम गरेको छ ।

देउवाले नपत्याएपनि प्रचण्डले देउवासँग हारगुहार गर्न छाडेका छैनन् । बुधबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–नेपाल पक्षको विरोध सभामा प्रचण्डसहित नेताहरूले संयुक्त आन्दोलनका लागि कांग्रेसलाई आग्रह गरेका छन् ।

‘लोकतान्त्रिक आन्दोनलको नेताको छवि बनाएको नेपाली कांग्रेस र संघीय लोकतान्त्रिक गणतन्त्रको छवि बनाएको जनता समाजवादी लगायतका पार्टीहरू अब कुनै भ्रममा पर्न आवश्यक छैन । कन्फ्युजन पनि हुनुपर्दैन हामी सबैले भनेकै छौं । शान्ति सम्झौतामा हस्ताक्षर गिरिजाप्रसाद कोइरालाले गर्नुभएको हो र संविधान सभाबाट पहिलो संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्ने काम पनि प्रधानमन्त्रीको रूपमा गिरिजाप्रसाद कोइरालाले गर्नुभएको हो,’ प्रचण्डले विरोध सभामा भने, ‘कांग्रेस नेता कार्यकर्ताले पनि सम्झनुभएकै होला यो कुरा । अनि यही संविधान हो, जुन संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार दिनु हुँदैन भनेर बनाइयो । त्यो संविधान बनाउने बेलामा पनि कांग्रेसकै नेता सुशील कोइराला हुनुहुन्थ्यो । अहिले गिरिजाबाबु पनि हुनुहुन्न, सुशील पनि हुनुहुन्न, अहिले शेरबहादुरजी हुनुहुन्छ । तपाईं शान्ति सम्झौता गर्ने, संविधानसभा गर्ने, संविधान निर्माणमा तपाईं पनि नेता । यसमाथि घात हुँदाखेरी अब संयुक्त आन्दोलन गर्ने, केपीको निरंकुशतालाई सदाका लागि परास्त गर्ने र देशमा लोकतन्त्र खतरामा छैन भनेर पुष्टि गर्ने बेला कांग्रेसलाई यो अवसर हो ।’

सभामा वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ लगायतले समेत कांग्रेसलाई संयुक्त आन्दोलनका लागि आग्रह गरेका थिए । तर कांग्रेसभित्र प्रचण्डसँग मिलेर आन्दोलन गर्नै नहुने जनमत ठूलो छ ।

प्रचण्डले भेटेरै संयुक्त आन्दोलनको आग्रह गर्दा देउवाले नेकपा औपचारिक रूपमा नफुटेको, प्रचण्ड फेरि ओलीसँगै मिल्न सक्ने, जनताले नेकपालाई नै बहुमत दिएकाले कांग्रेस सरकारमा नजाने लगायत जवाफ दिने गरेका छन् । तर कांग्रेस प्रचण्डसँग मिल्न राजी नहुनुको पछाडि कांग्रेसका लागि पुराना अप्रिय घटनाक्रमले समेत काम गरेको छ ।

प्रचण्डलाई पत्याउँदैनन् पूर्व सहयोद्धा

प्रचण्ड शान्ति प्रक्रियामा आएपछि राजनीतिमा आएपछि चतुर खेलाडी बन्न खोज्दा अविश्वासका पात्र बनेका छन् । कांग्रेसले मात्रै होइन, प्रचण्डलाई उनकै पूर्व सहयोद्धाले समेत पत्याउँदैनन् । ओलीविरुद्ध संयुक्त आन्दोलनको आह्वान गरिरहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत प्रचण्ड जुनसुकै बेला पनि ओलीसँग मिल्न जानसक्ने आशंका व्यक्त गर्ने गरेका छन् ।

ओलीविरुद्ध आन्दोलन गर्न प्रचण्डका पूर्व सहयोद्धा मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’ र विश्वभक्त दुलाल ‘आहुति’ले बिहीवार संयुक्त मोर्चा घोषणा गरेका छन् । तर प्रचण्डका यी पूर्व सहयोद्धा प्रचण्डसँग संयुक्त आन्दोलन गर्न रुची देखाउँदैनन् । प्रचण्ड अवसरवादी बन्दै गएका पूर्व सहयोद्धाकै आरोप छ ।

प्रचण्डको त्यो धोका !

शान्ति प्रक्रियामा आएपछि प्रचण्डले कांग्रेसलाई धेरैपल्ट धोका दिए । शान्ति प्रक्रियाका सर्वाेच्च नेता गिरिजाप्रसाद कोइरालालाई नेपालको प्रथम राष्ट्रपति नबनाउनु आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो भुल रहेको प्रचण्ड स्वयंले स्वीकार्ने गरेका छन् ।

गिरिजाबाबुलाई राष्ट्रपति बनाउन सहमत हुने वचन दिएर प्रचण्डले अन्तिममा धोका दिएका थिए । प्रचण्डले सार्वजनिक कार्यक्रममै भन्ने गरेका छन्, ‘गिरिजाबाबुलाई राष्ट्रपति नबनाउनु मेरो राजनीतिक जीवनको सबैभन्दा ठूलो भुल हो ।’

प्रचण्डले कांग्रेसलाई एकपल्ट मात्रै धोका दिएनन्, गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस सभापति देउवाले प्रचण्डबाट ठूलो धोका पाए । स्थानीय तह निर्वाचनमा गरेको चुनावी तालमेल आमनिर्वाचनसम्म कायमै राख्ने भित्रि सहमति तोड्दै प्रचण्डले कम्युनिस्ट मिल्ने नाममा पूर्व एमालेसँग गठबन्धन गरे । स्थानीय तह निर्वाचनमा भने प्रचण्डले कांग्रेससँग चुनावी तालमेल गरेर चितवनको भरतपुर महानगरपालिकामा छोरी रेणु दाहाललाई मेयर बनाएका थिए ।

कांग्रेसको प्रभाव क्षेत्र भरतपुरमा प्रचण्डपुत्री रेणुलाई मेयरमा समर्थन गर्नुपर्दा कांग्रेसका नेता कार्यकर्ता सभापति देउवासँग असन्तुष्ट बने । त्यो असन्तुष्टि प्रतिनिधिसभा निर्वाचनमा प्रचण्डबाट धोका पाइनु र चुनावमा नराम्ररी पराजित हुँदा झन् बढ्यो । प्रचण्डबाट धोका पाएकै कारण देउवा पार्टीभित्र आलोचनाको तारो बनेका थिए । यसरी प्रचण्डप्रति देउवाको मन मरेको थियो ।

प्रचण्डको नेतृत्वमा भएको सशस्त्र द्वन्द्वमा कांग्रेस नेता कार्यकर्ताको छानीछानी हत्या भएको, शान्ति प्रक्रियामा आएपछि पनि प्रचण्डले कांग्रेसलाई उपयोग मात्रै गरेर धोका दिएको आमबुझाइ कांग्रेस पंक्तिमा छ । गत निर्वाचनमा धोका पाएपछि देउवा समेत प्रचण्डप्रति सकारात्मक छैनन् । जसले गर्दा प्रचण्डले कांग्रेसको साथ पाइरहेका छैनन्, सायद पाउने पनि छैनन् ।

देउवाले साथ नदिने देखेपछि प्रचण्ड–नेपालले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर संयुक्त आन्दोलनको प्रस्ताव राखेका थिए । संसद पुर्नस्थापना भएपछि पौडेललाई राष्ट्रपति बनाउने आश्वासन दिइएको र संसद पुनर्स्थापना गर्ने वातावरण बनाउन संयुक्त आन्दोलनमा जोड दिन पौडेललाई प्रचण्डले प्रस्ताव गरेको चर्चा समेत चलेको थियो । प्रचण्डसँग भेटेपछि पौडेलले संयुक्त आन्दोलनको पक्षमा बोल्दै आएका छन् । तर पौडेल पक्षकै अधिकांश नेताहरू प्रचण्डसँग मिल्नै नहुने पक्षमा छन् ।

कांग्रेस महामन्त्री शशांक कोइरालाले हालै एक कार्यक्रममा भने, ‘आन्दोलन गर्दाखेरी हामीले कसैसँग मिल्नु हुँदैन, संयुक्त जानै हुँदैन । कांग्रेसको आफ्नै विचार र अस्तित्व छ, अरुसँग किन मिल्ने ? आफ्नो कार्यकर्तालाई समेटेर एकजुट बनाएर लिएर जान सके कांग्रेसको भविष्य उज्ज्वल छ ।’