प्रचण्डको ‘अप्रिय’ अभिव्यक्तिको अर्थ : कहाँ अड्कियो एकताको गाँठो ?


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टी एकीकरणमा ढिलाइ भइरहेको बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार अभिव्यक्ति दिए – पहिलेका समझदारीहरूबाट पछाडि फर्कन थाले दुर्भाग्य हुने ।

राजनीतिक वृत्त र सञ्चारमाध्यममा एकीकरणका जटिलताबारे चर्चा भइरहँदा आएको प्रचण्डको अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

आँखिर प्रचण्डले ‘दुर्भाग्य’ हुने कुरा किन गरे ? एकीकरणको प्रक्रिया उत्साहपूर्ण रुपमा अगाडि बढ्नुपर्ने बेला दुर्भाग्यपूर्ण ‘अप्रिय’ कुरा गर्नुपर्ने अवस्था कसरी आयो ?

गृहजिल्ला चितवनमा आयोजित नेकपा चितवन जिल्ला समितिको शपथ ग्रहण कार्यक्रम उनले भने, ‘अलिअलि आफ्नो स्वार्थतिर केन्द्रित हुनुभएन । पार्टी एकता गर्दा हामीले जे–जे कुरालाई आधार बनाएर समझदारी र हस्ताक्षर गरेका छौं, दस्तावेजमा राखेका छौं । अब ती कुराबाट पछाडि हट्ने कुरा आउँदैन ।’ उनले अगाडि थपे, ‘हामीले बनाएका दस्तावेजहरू, हामीले गरेका सहमतिहरू, एकताका आधार जेलाई बनाएका छौं, त्योबाट जो कोही अलिकति पनि विचलित हुन थाल्यो भने त्यसलाई हामीले खण्डन आलोचना गर्नुपर्छ र उसलाई हाम्रो ऐतिहासिक एकताको आधारहरूमा केन्द्रित गर्नुपर्छ भन्नेमा सर्वसहमति भएको छ ।’

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच सांगठनिक एकताको लगभग सबै काम सकिएको छ । केन्द्रदेखि प्रदेश हुँदै जिल्ला तहमा नेतृत्व चयन भइसकेका छन् । केन्द्रीय सदस्यको कार्यविभाजनको प्रक्रिया समेत छलफलका क्रममा छ । तर पछिल्लो समय पार्टीको सैद्धान्तिक र वैचारिक पक्ष तथा जनयुद्धलाई हेर्ने दृष्टिकोणबारे विवादजस्तो देखिएको छ ।

जबज कि जज ?

पार्टी एकीकरण हुँदा भएको समझदारीमा तत्कालीन एमालेको जनताको बहुदलीय जनवाद (जबज) र माओवादीको १२ औं शताब्दीको जनवादलाई महाधिवेशनमा बहसमा लैजाने भनिएको छ । महाधिवेशनको मिति घोषणा भइनसकेकाले औपचारिक रुपमा सैद्धान्तिक पक्षमा खासै बहस भएको थिएन । तर पछिल्लो समय पूर्व एमालेका केही नेताले जबजलाई नै नेकपाको आधिकारिक सैद्धान्तिक पक्ष मान्नुपर्ने भनेर सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् ।

चितवनमा आएको प्रचण्डको पछिल्लो अभिव्यक्ति त्यसकै प्रतिक्रिया हुनसक्ने अनुमान राजनीतिक वृत्तमा भइरहेको छ । जबजको अडान सामान्य रुपमा मात्रै आएको हुन्थ्यो भने सायद प्रचण्डले ‘दुर्भाग्य’ शब्दको प्रयोग गर्ने थिएनन्, जबरजस्त अडानविरुद्ध प्रचण्डले जबरजस्त शब्दचयन गरेका हुनसक्छन् ।

पूर्व एमालेको एकता पक्षधर खेमा र पूर्व माओवादी पक्षले पार्टीको सैद्धान्तिक धार जनताको जनवाद (जज) हुनसक्ने भनेर साझा धारणा बनाएका छन् । तर माओवादी पार्टीलाई पूर्व एमालेमा विलय गराएझै अवस्थामा पुर्‍याउन सीमित व्यक्तिले जबजकै रटानलाई सार्वजनिक मञ्चमै अडानका रुपमा प्रस्तुत गरिरहेका छन् । जबरजस्ती स्थापित गर्न खोजिएको जबज रटानलाई प्रचण्ड मान्ने अवस्थामा नरहेको चितवनको अभिव्यक्तिले प्रष्ट संकेत गरेको छ ।

एकता विरोधी जिद्दी

एमाले र माओवादीबीच एकता हुँदै गर्दा केही नेताहरू एकता नभइदिए हुन्थ्यो भन्ने पक्षमा थिए । बीचमा एकता भत्काउन थुप्रै प्रयास भए तर सफल भएनन् । व्यक्तिगत स्वार्थ मात्रै होइन, देशी–विदेशी स्वार्थ अनुसार एकता बिथोल्ने गरी भइरहेका प्रयासमा पार्टीभित्रकै केही नेताले समेत चलखेल गर्ने गर्छन् । ती चलखेल गर्ने समूहलाई अहिले मौका मिलेको छ – पार्टीको सैद्धान्तिक र वैचारिक विवाद तथा जनयुद्धलाई हेर्ने दृष्टिकोण ।

एकता नचाहने पक्षले दुवै विवादित विषयमा एकता हुनुअघि रहेको एमालेकै दृष्टिकोणलाई स्थापित गर्न खोजिरहेका छन् । एमालेकै जबजलाई नेकपाले मान्नुपर्ने र जनयुद्धलाई ऐतिहासिक घटनाक्रमका रुपमा ग्रहण नगर्र्ने अडान केही नेताले लिइरहेका छन् । यी अडानलाई सहर्ष स्वीकारेर लुरुलुरु प्रचण्डले एकीकरण स्वीकार्दैनन् भन्ने नै चितवन अभिव्यक्तिको अर्थ देखिन्छ ।

जनयुद्धकै जगमा देशमा गणतन्त्र, संघीयता, समानुपातिक, समावेशीता, धर्मनिरपेक्षता लगायत उपलब्धी संस्थागत भएको सर्वविदितै छ । तर त्यही जनयुद्धलाई ग्रहण नगर्ने अडान स्वाभाविक देखिँदैन । एकताको मूल भाव नै केही छाड्ने र केही ग्रहण गर्ने हो तर आफ्ना कुरा छाड्नै नहुने र अर्काले सबै छाड्नुपर्ने भन्ने केही नेताको अडान एकतामा जटिल गाँठो हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement