प्रचण्डले जोगाए स्वाभिमान, शेरबहादुर र बाबुराम विदेशमन्त्रीसामु लत्रक्कै !


काठमाडौं – नेपाली राजनीतिमा ‘कूटनीतिक मर्यादा’ जोगाउने कुरा पटक–पटक चर्चामा आउने गर्छ । सार्वजनिक बहसमा चर्चा हुने गरेपनि राजनीतिक नेतृत्व कूटनीति मर्यादा जोगाउन संवेदनशील देखिँदैन ।

भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमण पूरा गरेर बिहीबार स्वदेश फर्किए । तर उनको भ्रमको कूटनीतिक मर्यादालाई ख्याल नगर्नेहरूको अनुहार प्रस्ट पारेर गएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालले मर्यादा र स्वाभिमान कायम गरेका छन् । पूर्व प्रधानमन्त्रीको हैसियतका दुवै नेता विदेशमन्त्रीलाई भेट्न होटलमा गएनन् । तर पूर्व प्रधानमन्त्रीकै हैसियतका कांग्रेस सभापति शेरबहादुर देउवा र समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई विदेशमन्त्री भेट्न होटलमै पुगेका छन् ।

प्रचण्डले जोगाएको स्वाभिमान !

नेकपा अध्यक्ष प्रचण्ड कूटनीति मर्यादाप्रति विगतदेखि नै संवेदनशील देखिन्छन् । उनले आफ्नो राजनीतिक जीवनमा भारतीय हेपाहा र विस्तारवादी प्रवृत्तिको खुलेरै विरोध गरे । कुनै बेला प्रचण्डको छवि कट्टर भारत विरोधीको बनेको थियो ।

पछिल्लो समय भारतसँग समेत सम्बन्ध सुधारेका प्रचण्ड पूर्व प्रधानमन्त्रीको कूटनीतिक मर्यादा जोगाउन संवेदनशील देखिए । त्यही संवेदनशीलता जोगाउँदा भारतीय विदेशमन्त्री जयशंकर र प्रचण्डबीच भेट भएन ।

विदेशमन्त्री जयशंकरले बिहीवार बिहान ८ बजे प्रचण्डलाई भेटवार्ताका लागि काठमाडौंको बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा बोलाए । तर प्रचण्ड गएनन् । प्रचण्डको सचिवालय स्रोतका अनुसार पूर्व प्रधानमन्त्रीले विदेशमन्त्रीलाई भेट्न होटलमा जानु कूटनीतिक मर्यादाले सुहाउँदैन ।

विदेशमन्त्री जयशंकरले पूर्व प्रधानमन्त्रीलाई भेट्न उनी भएकै ठाउँमा जानुपर्ने हुन्छ । तर विदेशमन्त्री समेत प्रचण्ड भए ठाउँ गएनन् । नेता माधवकुमार नेपाललाई समेत भेट्न होटलमै बोलाइएको थियो । नेता नेपाल समेत होटलमा भेट्न गएनन् ।

नेकपा नेताहरूले कूटनीतिक मर्यादालाई ख्याल गरेर भेट्न नगएको बेला पूर्व प्रधानमन्त्री समेत रहेका प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने विदेशमन्त्रीलाई भेट्न होटलमै पुगे । देउवा मात्रै नभई बौद्धिक नेताभित्र गनिने तथा कूटनीतिक मर्यादाको पाठ सिकाउने डा. बाबुराम भट्टराई समेत विदेशमन्त्री भेट्न होटलमै पुगे । बिहीबार विदेशमन्त्री जयशंकरले देउवासँग दिउँसो १२ बजे र भट्टराईसँग दिउँसो १ बजे होटलमै भेट गरेका छन् । बाबुरामसँगै समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव समेत विदेशमन्त्री जयशंकरलाई भेट्न होटल पुगेका थिए ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर बुधबार नेपाल आएर उनी बिहीबार स्वदेश फर्किसकेका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

नेपालमा संविधान जारी भएपछि २०७२ सालमा भारतले लगाएको अघोषित नाकाबन्दीमा विदेशमन्त्री जयशंकरलाई मुख्य योजनाकारको रुपमा लिइन्छ । नेपाली जनतामाझ जयशंकरको छवि विवादास्पद रहेको बेला पूर्व प्रधानमन्त्री हैसियतका नेताहरू उनलाई भेट्न होटलमै पुगेपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

विदेशमन्त्री भएपछि पहिलो पटक काठमाडौं आएका जयशंकरले दुई दिने काठमाडौं बसाइ सकेर स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी र नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले बिदाई गरेका छन् । विदेशमन्त्री जयशंकरको भ्रमणपछि नेपाल–भारत सम्बन्ध अझै सुमधुर हुने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement