अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै, दिगो विकास र सामाजिक समावेशितामा जोड

अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै, दिगो विकास र सामाजिक समावेशितामा जोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- दिगो विकास, सामाजिक समावेशिता तथा परिवारको सशक्त भूमिकालाई केन्द्रमा राख्दै आज विश्वभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ।

यस अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारीस्वरूप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल आयोजना गरिएको छ।

राष्ट्रसङ्घले सन् १९८० को दशकदेखि परिवारसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राख्न थालेको थियो। आर्थिक तथा सामाजिक परिषद्को सिफारिसमा सामाजिक विकास आयोगले सन् १९८३ मा ‘विकास प्रक्रियामा परिवारको भूमिका’ सम्बन्धी प्रस्ताव पारित गर्दै परिवारका समस्या, आवश्यकता र समाधानका उपायबारे विश्वव्यापी जनचेतना अभिवृद्धि गर्न महासचिवलाई आग्रह गरेको थियो।

त्यसपछि सन् १९८५ मा परिषद्ले महासभालाई ‘विकास प्रक्रियामा परिवार’ शीर्षकलाई कार्यसूचीमा समावेश गर्न सुझाव दिएको थियो। सदस्य राष्ट्रहरूको धारणा र प्रस्तावका आधारमा परिवारको अवस्था तथा कल्याण सुधार गर्ने र सामाजिक विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य बढाउने पहल अघि बढाइएको थियो।

संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८९ मा ‘अन्तर्राष्ट्रिय परिवार वर्ष’ घोषणा गरेको थियो। त्यसपछि सन् १९९३ मा पारित प्रस्तावअनुसार हरेक वर्ष मे १५ लाई अन्तर्राष्ट्रिय परिवार दिवसका रूपमा मनाउने निर्णय गरिएको हो। यो दिवस सन् १९९४ देखि औपचारिक रूपमा विश्वभर मनाउन थालिएको हो।

राष्ट्रसङ्घका अनुसार अन्तर्राष्ट्रिय परिवार दिवसले परिवारसँग सम्बन्धित सामाजिक, आर्थिक तथा जनसाङ्ख्यिक विषयमा जनचेतना अभिवृद्धि गर्ने अवसर प्रदान गर्दछ। साथै सन् २०१५ मा अनुमोदन गरिएका दिगो विकास लक्ष्य प्राप्तिका लागि परिवार र परिवारमैत्री नीति तथा कार्यक्रमलाई महत्वपूर्ण आधारका रूपमा लिइएको छ। गरिबी न्यूनीकरण, विभेद अन्त्य, सामाजिक सुरक्षा तथा समावेशी विकासका लक्ष्य हासिल गर्न परिवारको भूमिकालाई विशेष महत्व दिइएको छ।