काठमाण्डु – राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले यथास्थितिमा एमसीसी संसद्बाट पारित गर्न नहुने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमसीसीको बारेमा स्पष्ट हुनको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग छलफल गर्नुपर्ने पनि बताए ।
उनले भने,‘एमसीसीमा भएका कतिपय अस्पष्ट बुँदाको बारेमा नेपालका सबै दलहरुबीच सरसल्लाह गरेर साझा निष्कर्षमा पुग्नुपर्छ । यसको लागि नेपाल सरकार खासगरी प्रधानमन्त्रीले पहल लिनुपर्छ ।’ उनले अहिले नेपालको संसद्ले एमसीसी पारित गर्यो भने भोलि यस्तैखाले सम्झौता भारत र चीनले पनि संसदबाट पारित गर्नुपर्छ भन्यो भने के हुन्छ ? भन्दै प्रश्न गरे ।
उनले भने,‘चीन उदाउँदो महाशक्ति हो, उता अमेरिका स्थापित महाशक्ति हो । अहिले दुई देशबीच तनाव बढेर गएको छ । त्यो तनावको भुमरीमा नेपाल नपरोस् भनेर नेपाल सतर्क हुनुपर्छ । संसद्ले एमसीसी पारित गर्यो भने भारतले पनि भोलि यस्तैखाले विकास सम्झौता संसदबाट पारित गर्नुपर्छ भन्यो र चीनले पनि भन्यो भने के गर्नुहुन्छ ?’ उनले नेपाल शक्ति राष्ट्रहरूको बीचमा रहेकोले विशेष सावधानी अपनाएर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।




प्रतिक्रिया