काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेतले प्रतिनिधिसभा बैठकमा सोमबार आफू आउन ढिला भएको भनेपछि प्रतिपक्षीका सांसदले संसदमा व्यंग्य हानेका छन् ।
सांसद बस्नेतले राजधानीको कोटेश्वरमा अरु बेला भन्दा बढी जाम भएका कारण आफू ढिला भएको उल्लेख गरेका थिए । ‘म आज दस मिनेट ढिला आएँ, कोटेश्वरको जाम अन्य दिनभन्दा बढी थियो’, बस्नेतले भने, ‘विप्लव समूहको बन्द जनताले अस्वीकार गरेको प्रमाण हो यो ।’
बस्नेत भक्तपुरका बासिन्दा हुन् । बस्नेतको धारणामा सत्तापक्षका सांसदले ताली बजाएर सही थापे ।
प्रतिपक्षीका सांसद पार्वता डिसी चौधरीले आफू भक्तपुरकै बालकोट बस्ने गरेको र पाँच मिनेटमै बालकोबाट बानेश्वरस्थित संसद भवन आइपुगेको बताइन् । ‘बालकोटबाट आउँदा ५ मिनेटमा आइपुगें बाटो खुला थियो’, चौधरीले भनिन् ।
लगत्तै कांग्रेसकी अर्की सांसदले पनि बस्नेतलाई जवाफ फर्काइन् । ‘म वनस्थलीबाट यहाँ सदन आइपुग्दा १ घण्टा लाग्थ्यो आज २० मिनेटमा आइपुगें’, कांग्रेस सांसद रंगमती शाहीले भनिन्, ‘वनस्थलीतर्फ रुटका गाडी सबै कोटेश्वर गएका रहेछन् ।’ शाही बोलेपछि भने संसदमा हाँसो नै फैलियो ।




प्रतिक्रिया