काठमाण्डु – प्रतिनिधिसभा बैठक आधा घण्टासम्मका लागि स्थगित भएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निरन्तर विरोध गर्दै आइरहेका छन् ।
मंगलबार सभामुख देवराज घिमिरेले बैठक सुरु गर्ने बित्तिकै रास्वपा सांसदहरूले विरोध गरेका थिए । त्यसपश्चात सभामुख घिमिरेले रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय दिए । रास्वपाको कार्यप्रति नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नियमापत्ति जनाए । घिमिरेले समय दिएपश्चात कांग्रेस सांसद् घिमिरेले नियामावलीअनुसार रास्वपाका सांसद अमर्यादित पोशाकमा संसद् बैठकमा आएको भन्दै आपत्ति जनाएका छन् ।
रास्वपाका सांसद स्कार्प भिरेर आएकाले मर्यादित पोशाकमा यो पर्छ कि पर्दैन भन्दै उनले प्रश्न गरेका छन् । घिमिरेले प्रश्न गर्दै भने, ‘कोही हाफ पाइन्ट लगाएर आउने, भोलि आफूखुसी कपडा लगाएर आए संसदीय मर्यादाभित्र राख्ने कि नराख्ने ?’
उनले नियमावली अनुसार कारबाही गर्न र संसद्बाट निकाल्न समेत आग्रह गरे । ‘नियमावली ३० मा बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिन सक्नेछन् र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्नेछ भनिएको छ । बैठक कक्षबाट निष्कासन गर्न सक्ने समेत व्यवस्था नियमको ३१ मा गरिएको छ । सभामुख महोदय, यस्तो किसिमको व्यवहार गर्नेलाई चेतावनी दिने र संसदबाट निष्कासित गर्ने कारबाही गर्ने आवश्यक छ ।’




प्रतिक्रिया