काठमाण्डु – सभामुख देवराज घिमिरे विदेश भ्रमणमा भएका कारण बस्न नसकेको प्रतिनिधिसभा बैठक भोलि सोमबार बस्दैछ ।
सभामुख घिमिरे सभामुखहरूको छैटौं विश्व सम्मेलनमा सहभागी हुन स्विट्जरल्याण्डको जेनेभा गएका बेला १० दिन बैठक स्थगित भएको थियो । सम्मेलनमा सहभागी भएर सभामुख घिमिरे आईतबार स्वदेश फर्किएपछि सोमबार बैठक बस्न लागेको छ ।
संघीय संसद् सचिवालयले सोमबारको प्रतिनिधिसभा बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । कार्यसूचीमा महत्वपूर्ण कुनै विधेयक समावेश छैन ।
सम्भावित कार्यसूचीमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक टेबुल गर्ने र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्झौता सामान्य छलफलपछि अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गर्ने उल्लेख गरिएको छ ।





प्रतिक्रिया