प्रचण्ड–नेपाल पक्षका सांसदको निश्कर्ष: संसदको नियमित काम अघि बढाउँछाैं

प्रचण्ड–नेपाल पक्षका सांसदको निश्कर्ष: संसदको नियमित काम अघि बढाउँछाैं


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ११४ जना सांसदले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिले दिएको स्वीकृतिलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा भएको प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ जना सांसदको भेलाले उक्त स्वीकृतिलाई अस्वीकार गर्ने निर्णय गर्दै प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निश्कर्ष निकालेको हो ।

साथै निर्धारित तालिकाअनुसार संसद्को अधिवेशन बोलाउन माग गरिएको छ । संसद्को एक अधिवेशन सकिएको ६ महिनाभित्र अर्काे अधिवेशन बोलाउनुपर्ने प्रावधानलाई ध्यान दिएर छिटो संसद्को अधिवेशन बोलाउन माग गरिएको छ ।

बैठकबाट पारित प्रस्तावमा भनिएको छ, ‘प्रतिनिधिसभाको नियमित कार्य अघि बढाउनुपर्छ भनी यो बैठक जोडदार माग गर्दछ ।’