काठमाण्डु – सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला गरेपछि संघीय संसद् सचिवालयले संसद् बैठकको तयारी सुरु गरेको छ ।
अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएपछि सचिवालयले सम्पूर्ण तयारी थालेको प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले जानकारी दिए । उनले पुस १७ मै हुने हिउँदे अधिवेशनका लागि गरेको तयारीले १३ दिनभित्रै बैठक गर्न सकिने बताए ।
अदालतको आदेशअनुसार सरकारले १३ दिनभित्र प्रतिनिधिसभाको बैठक राख्ने दिन तय गरी राष्ट्रपतिसमक्ष सिफारिस गरिसक्नु पर्नेछ । सरकारको निर्णयका आधारमा राष्ट्रपतिले संसद् बैठक आह्वान गर्न सक्ने संवैधानिक प्रावधान छ ।
सचिवालयले सामाजिक दूरी कायम हुने गरी कुर्सी व्यवस्थापन गरिसकेको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । यो प्रस्ताव कसरी अघि बढ्छ भन्नेमा पार्टीले निर्णय गर्ने नेकपा दाहाल–नेपाल पक्षका प्रमुख सचेतक देव गुरुङले बताए ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने निर्णय गरेकै दिन दाहाल र नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । प्रस्तावमा भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष पुष्पकमल दाहाललाई प्रस्ताव गरिएको छ ।
९० जना सांसदको हस्ताक्षरसहित उक्त प्रस्ताव प्रतिनिधिसभाको कार्य व्यवस्था शाखामा दर्ता भएको थियो । प्रस्तावको प्रक्रिया अघि बढ्न नपाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भंग भएको घोषणा गरेकी थिइन् ।




प्रतिक्रिया