काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा प्रमुख प्रतिपक्ष दल अनुपस्थित भए पनि संवादको क्रम भने जारी राख्ने भएका छन् । प्रतिनिधिसभा बैठकअघि सभामुख सापकोटाले प्रतिपक्षी दल एमालेसँग संवादको प्रयत्न गर्ने प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
‘प्रतिपक्ष दल एमालेको समस्या हल गर्नका लागि हिजो सर्वदलीय बैठक सभामुखले आह्वान गर्नु भएको थियो । तर, उहाँहरू उपस्थित हुनु भएन्,’ न्यौपानेले न्युज भने, ‘अझै पनि सभामुख प्रतिपक्ष दलसँग संवादका लागि प्रयत्नरत हुनुहुन्छ, संसदलाई प्रभावकारी रुपमा चलाउनका लागि सबै दलसँग उहाँले संवाद गरिरहनुभएको छ ।’
उनका अनुसार सभामुख सापकोटाले बैठकमा धारणा राख्न प्रतिपक्ष दल एमाले नआएकोमा असन्तुष्ट रहेको न्यौपानेको भनाइ छ । ‘जसका लागि बैठक बोलाइएको थियो, उहाँ (एमाले)हरू नै आउनु भएन, तर दलहरूको सुझावअनुसार सभामुखले एमालेसँग संवाद गर्न भने प्रयत्न गर्दै हुनुहुन्छ ।’
उनका अनुसार आज (मंगलबार) १ बजे संसद बैठकअघि पनि सभामुख सापकोटाले एमाले नेताहरूसँग कुराकानी गर्नेछन् । अवरोधकाबीचमा नै संसद चलाइरहेका सापकोटा र एमालेबीच विवाद थप बढिरहेको छ । यसैबीच, सभामुख सापकोटाले सोमवार सर्वदलीय बैठक डाकेर विवाद हल गर्ने प्रयत्न गरे पनि एमालेको अनुपस्थितिका कारण सम्भव भएन ।
एमाले संवादमा नआए पनि कार्यसूचीअनुसार संसद बैठक बढाउने योजनामा सभामुख सापकोटा रहेको न्यौपानले जानकारी दिए ।




प्रतिक्रिया