संसद् चलायमान : सोमवार सभापतिको निर्वाचन, भोलिपल्ट प्रधानमन्त्रीसँग प्रश्नोत्तर

संसद् चलायमान : सोमवार सभापतिको निर्वाचन, भोलिपल्ट प्रधानमन्त्रीसँग प्रश्नोत्तर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै लामो समय अवरुद्ध संसद् खुलेसँगै चलायमान भएको छ ।

प्रतिनिधिसभा बैठकमा बुधवार र बिहीवार समसामयिक र जनसरोकारका विषयमा सांसदहरूले धारणा राखेका छन् ।

संसद्लाई अझ चलायमान बनाउने कार्यसूची समेत तय गर्दै सभामुख देवराज घिमिरेले संसद्मा जानकारी गराएका छन् । बिहीवारको संसद् बैठक अन्त्य गर्दै सभामुख घिमिरेले सोमवार संसदीय समितिका सभापतिको निर्वाचन हुने र मंगलवार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने जानकारी दिए ।

संसदीय समितिलाई ‘मिनि संसद्’ मानिन्छ । समितिहरूले मन्त्री र मन्त्रालयहरूलाई निर्देशन दिने र सरकारलाई सिफारिस गर्नेसम्मका काम गर्छन् । संसदीय समितिले संसद्को भूमिकालाई प्रभावकारी बनाउन भूमिका खेल्छन् ।

प्रतिनिधि सभाअन्तर्गत १० विषयगत समिति गठन भएका छन् । समितिका सभापतिको निर्वाचन भदौ ११ गते सोमवार दिउँसो ३ः०० बजे हुने जानकारी तय भएको छ । निर्वाचनका लागि प्रतिनिधि सभाका सचिव पदमप्रसाद पाण्डेयलाई जिम्मेवारी तोकिएको जनाइएको छ ।

भदौ १२ गते हुने प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि भदौ ८ गतेभित्र लिखितरूपमा प्रश्न दिन सकिने जनाइएको छ । लिखित प्रश्नको आधारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफको तयारी गर्नेछन् भने संसद्मै पुरक प्रश्न सोध्ने मौका समेत दिने गरिएको छ ।