सरकारलाई सभामुखको रुलिङ : खुकुरी आक्रमण र बालिका मृत्युबारे सदनलाई जानकारी गराउनू


काठमाण्डु – सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको घटना सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् ।

आज बिहीवार प्रतिनिधि सभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरूले दुवै घटनामा सरकारको ध्यानाकर्षण गरेका छन् । सांसदहरूको मागअनुसार सभामुखले सरकारलाई निर्देश गरेका हुन् ।

बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित अन्तर्क्रिया कार्यक्रममा सहभागी भएर निस्किने क्रममा नेता यादवमाथि धारिलो हतियार प्रहार भएको थियो । प्रहरीका अनुसार अन्तर्क्रिया कार्यक्रममै सहभागी नुवाकोटका ४७ वर्षीय श्याम सापकोटाले सहमहामन्त्री यादव क्लबबाट निस्किनासाथ पछाडिबाट खुकुरी प्रहार गरेका थिए ।

सांसदहरूले उपचारको अभावमा कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको घटना सम्बन्धमा पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

उपचारका लागि लगिएकी बालिका रेजिशा गोपालीका परिवारसँग खर्च नभएको कारण २ घण्टासम्म चिकित्सकले नहेर्दा इमर्जेन्सी कक्षमै निधन भएको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement