काठमाण्डु – संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभाले १४ असारसम्म संसदले गर्ने कामको कार्यसूची सार्वजनिक गरेको छ । सोमबार बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिले गरेको निर्णयअनुसार संघीय संसद सचिवालयले प्रतिनिधि सभा नियमावलीको नियम २२५ बमोजिम पाक्षिक संसदीय क्यालेन्डर तयार गरी वेभसाइटबाट सार्वजनिक गरेको हो ।
क्यालेण्डरमा अब जेठमा ४ दिन र असारमा ७ दिन प्रतिनिधि सभा बैठक बस्ने उल्लेख छ ।
क्यालेण्डरमा प्रतिनिधि सभाबाट असार ७ गते आगामी आर्थिक वर्षको बजेट गर्ने उल्लेख छ । असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ ।
अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए । बजेटमाथि सामान्य छलफल सकिएको छ । आज मंगलबारदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु हुने क्यालेण्डरमा उल्लेख छ ।
मंगलबार चारवटा मन्त्रालयअन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेटमाथि छलफल गर्ने कार्यसूची तय भएको हो ।
असार ७ गतेसम्म बजेटको शीर्षकगत छलफल चल्ने र त्यसैदिन बजेट पारित गर्ने संसदीय क्यालेन्डरमा उल्लेख छ ।






प्रतिक्रिया