काठमाण्डु – अर्थमन्त्री वर्षमान पुनले १५ जेठमा संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि आजबाट प्रतिनिधि सभामा छलफल सुरु भएको छ । ७ असारमा पारित गर्ने सूची तय भएको प्रतिनिधि सभामा ५ असारसम्म विभिन्न मन्त्रालयका लागि विनियोजित बजेटमाछि छलफल हुने र दुई दिन सम्बन्धीत मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय भएको छ ।
मंगलबार प्रतिनिधि सभामा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि विनियोजित बजेटबारे छलफल हुनेछ ।
बुधबार सहरी विकास, रक्षा, महिला, बालबालिका तथा जेष्ठ नागरिक र कानुन न्याय तथा तथा संसदीय मामिला मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।
बिहीबार अर्थात जेठ ३१ गते उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ३२ जेठमा वन तथा वातावरण, खानेपानी, सञ्चार तथा सूचना प्रविधि र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।
२ असारमा संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालय, ४ असारमा गृह, परराष्ट्र, भौतिक पू्र्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेटमाथि छलफल हुनेछ ।
असार ५ गतेदेखि सम्बन्धित मन्त्रीले जवाफ दिन थाल्ने तथा ६ र ७ गते पनि सम्बन्धित मन्त्रीहरुले जवाफ दिएपछि बजेट पारित गर्ने कार्यतालिका रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।




प्रतिक्रिया