संसद विघटनविरुद्धको मुद्धामा आजको सुनुवाई जारी

संसद विघटनविरुद्धको मुद्धामा आजको सुनुवाई जारी


काठमाण्डु – प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा आजको सुनुवाई जारी छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा बिहान साढे ११ बजेपछि बहस सुरु भएको हो ।

रिट निवेदक अधिवक्ता सन्तोष भण्डारीका तर्फबाट इजलासमा अधिवक्ता दिनमणि पोखरेलले बहस गरिरहेका छन् ।रिट निवेदकको माग र विषयवस्तुबारे आइतबादेखि सुनुवाइ शुरु भएको थियो । आइतबार भएको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखी सोमबार (आज) पुनः सुनुवाइ सुरु भएको हो ।

प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख लगायतलाई विपक्षी बनाई विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले निवेदन दायर गरेका थिए ।

रिट निवेदनमा निवर्तमान सांसदले प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधिसभाको पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको छ ।

त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता शालिकराम सापकोटा, ज्ञानेन्द्रराज आरण, समृत खरेल, कञ्चनकृष्ण न्यौपाने, सन्तोष भण्डारी, दीपक राई, अमिता गौतम, लोकेन्द्रबहादुर ओली, कमलबहादुर खत्री, मनिराम उपाध्याय, तुलसी सिंखडा र अच्युतप्रसाद खरेलले निवेदन दायर गरेका थिए ।