प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकियो, फैसला कहिले ?

प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकियो, फैसला कहिले ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा जारी सुनुवाई सकिएको छ । आज एमिकस क्यूरीकातर्फबाट प्रस्तुत गर्ने राय सकिएको हो ।

पाँच जना एमिकस क्युरीको राय दिनेक्रम आज सकिएको हो । एमिकस क्युरीको पाँचौं सदस्यका रुपमा शुक्रबार वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय प्रस्तुत गरेकी थिइन् ।

एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले फागुन १० गतेसम्म बहस नोट बुझाउन आग्रह गरेका छन् । उनले मुद्दा हेर्दाहेर्दैमा पनि सकिनसक्ने बताए । उनले फैसलाको मिति भने तोकेनन् ।

‘फैसला जहिले पनि आउन सक्छ । १० गतेभित्र बहस नोट पेस गर्नुस्,’ उनले भने ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

यही माघ ४ गतेदेखि संवैधानिक इजलासमा विषय केन्द्रित बहस शुरु भएको थियो । गत पुस ११ गतेदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाइ गरिने भनी यही माघ २ गते आदेश भएको थियो ।

रिट निवेदक १३ मध्ये ११ जनाले उक्त विषय बृहत पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएकाले क्षेत्राधिकारका विषयमा लामै बहस र छलफल भयो ।

गत पुस १० गते संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । आदेशानुसार राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखले गत पुस १९ गते महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गरिसकेका छन् ।

अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सिफारिस र निर्णयको सक्कलप्रति राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउने तथा प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिष्टरसमेतका कागजात सङ्घीय सचिवालयबाट झिकाउने आदेश जारी गरेको थियो ।