काठमाण्डु- संघीय संसद्का दुवै सदनको बैठक बुधबार पनि बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने कार्यसूची छ । मंगलबार प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो ।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र अन्य विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरी अवरोध गरेपछि संसद्ले बिजनेस गर्न नसकेको हो ।
बुधबारको बैठकका लागि संघीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८० पेस गर्ने कार्यसूची तय भएको छ ।
बैठकमा प्रतिवेदन पेस गर्ने कार्यतालिका भए पनि अहिलेसम्म उक्त प्रतिवेदन समितिले सार्वजनिक गरिसकेको छैन ।
यसैगरी, उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१–८२ को आर्थिक सर्वेक्षण पेस गर्नेछन् । सम्भावित कार्यसूची अनुसार, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि दफावार छलफल गरी बुधबार नै पारित गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ ।
त्यसैगरी, प्रतिनिधिसभाको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०८२ पेस गर्नेछिन् ।
युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय भएको छ । त्यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न सवा १ बजे बस्दैछ । राष्ट्रियसभामा पनि अर्थमन्त्री पौडेलले आव २०८१–८२ को आर्थिक सर्वेक्षण गर्ने सम्भावित कार्यसूची छ ।
यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
राष्ट्रियसभाको बैठकमा सहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, स्वास्थ्य तथा जनसङ्ख्या र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।




प्रतिक्रिया