काठमाण्डु – प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा ‘रेल्वे विधेयक, २०७६’ र ‘प्रत्यायन (एक्रिडिटेसन) विधेयक २०७६’ प्रस्तुत हुने कार्यसूची रहेको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए ।
अधिवेशन अन्त्यको तयारी
दोस्रो पटक विघटन भएपछि असार २८ गते सर्वोच्चको फैसलाबाट पुनर्स्थापित भएको प्रतिनिधि सभाको अधिवेशन अन्त्य गर्ने तयारी भएको छ । स्रोतका अनुसार सोमबारको प्रतिनिधि सभा बैठकपछि ढिलामा भदौ १ सम्म अधिवेशन अन्त्यको तयारी भइरहेको छ ।
पुनर्स्थापित प्रतिनिधि सभाको अधिवेशन साउन ३ गतेबाट सुरु भएको थियो । संघीय संसदका दुबै अधिवेशन अहिले जारी छन् । तर, प्रतिनिधि सभा पूर्णतः बिजनेसविहीन छ । राष्ट्रिय सभाले भने विवाद नभएका केही विधेयक पारित गरेर प्रतिनिधि सभामा पठाएको छ ।
संसदलाई बिजनेस दिने दायित्व सरकारको हो । तर, यसबीचमा सरकारले विजनेश दिन सकेको छैन । जसकारण सामान्य कार्यसूचीमा प्रतिनिधि सभा कामचलाऊ रुपमा अघि बढिरहेको छ ।
अधिवेशन अन्त्यको चर्चा चलिरहँदा आइतबार कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेका छन् । प्रतिनिधि सभाको बैठकअघिको नियमित भेट भनिए पनि उनीहरुबीच अध्यादेश र प्रतिस्थापन विधेयक लगायतमा छलफल भएको थियो ।
सापकोटा निकट स्रोतका अनुसार यसअघि पनि सरकारलाई बिजनेस दिन सभामुखले आग्रह गरेका थिए । बिजनेस नभए अधिवेशनको औचित्य नहुने सभामुखले पटक पटक बताउँदै आएका छन् ।




प्रतिक्रिया