काठमाण्डु – प्रतिनिधि सभाको आजको बैठक पनि प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच नै अगाडी बढ्यो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमाले सांसदहरु वेल घेराउ गर्न पुगे अनि भट्याउन सुरु गरिहाले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ ।
यसअघि २३ भदौमा शुरु भएको अधिवेशनमा सभामुखमाथि नै प्रश्न उठाएको एमालेले आजको बैठकमा पनि सोही विषय दोहोर्यायो । सभामुखकै कारण पार्टी विभाजन भएको एमालेको तर्क छ । कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर एमाले विभाजन गर्न भूमिका खेलेको उनीहरुले आरोप लगाएका छन् ।
सभामुख सापकोटाले यस अघिनै आफुले जवाफ दिएकाले सदन सुचारु गर्न सहयोग गर्न वारम्बार आग्रह गरे तर एमालेको नारावाजी भने रोकिएन । प्रतिपक्षको आशनमा बसेका एमालेका अध्यक्ष केपी शर्मा ओली मुसुमुसु हाँस्दै थिए भने सत्ता पक्षमा बसेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गम्भिर देखिन्थे ।
सभामुखले पटकपटक आग्रह गर्दा पनि प्रतिपक्षको विरोध भने रोकिएन । करीब १८ मिनेट चलेको आजको पहिलो बैठकमा प्रतिपक्षीले अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गर्नुपर्यो ।
सभामुखले वाक स्वतन्त्रताको सम्मान गर्न एमाले सांसदहरुलाई आग्रह गरे । दोस्रो बैठक पनि सुरु हुनासाथ फेरी एमाले नारावाजीमा उत्रियो भने सभामुखले बैठक सञ्चालनका लागि सहज वातावरण बनाउन सहयोग गर्न आग्रह गरिरहे । प्रतिक्षले नारावाजी नरोकेपछि सभामुखले पेलेरै सदनको कारवाही अगाडी बढाए ।
अध्यादेश स्वीकृत
प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक अध्यादेश २०७८’, ‘राष्ट्र ऋण उठाउने अध्यादेश २०७८’ र ‘विनियोजन अध्यादेश २०७८’ लाई स्वीकृत गरेको छ ।
प्रतिनिधिसभाको आजको दोस्रो बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोध र नाराबाजीबीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका ती अध्यादेश सदनको बहुमतले स्वीकृत गरेको हो । यसअघि ती अध्यादेश अस्वीकृत गरियोस् भनी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले प्रस्तुत गरेको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।
प्रेम सुवालसंग सभामुखको सवाल जवाफ
प्रतिपक्षीको नारावाजीका कारण सभामुख सापकोटा हतारिएका जस्तो देखिन्थे । यहीबीचमा सभामुख सापकोटा र नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालबीच सवाल जवाफ भएको छ ।
सभामुखले आर्थिक अध्यादेश अश्वीकार गर्ने प्रस्ताव पेस गर्न सुवाललाई आफू बसेकै ठाउँबाट बोल्न समय दिएपनि सुवालले प्रतिपक्षको नारावाजीका बीच आफ्नो कुरा नसुनिने भन्दै रोष्टमबाट बोल्न पाउनुपर्ने अडान लिए । सभामुखले प्रस्ताव फिर्ता लिने हो वा होइन भन्दै सुवाललाई फेरी प्रश्न गरे ।
सुवालले आफूले आफ्नो प्रस्ताव नै पेस नगरेको भन्दै त्यसलाई अश्वीकृत गर्ने प्रक्रिया कसरी अघि बढ्यो भन्दै आपत्ति जनाए । तर, सभामुखले सुवालले प्रस्ताव फिर्ता लिन नचाहेको भन्दै उनले पेश नै नगरेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरे ।
नारावाजी चलिरहेका बेला सभामुखले बहुमतले उक्त प्रस्ताव अश्वीकृत भएको घोषणा गरे । आजको बैठकमा सभामुख पेलेरै जान खोजे भने प्रतिपक्षीले पनि चर्को प्रतिवाद गरेको छ ।




प्रतिक्रिया