काठमाण्डु – सरकारले संसदको चालु अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
अधिवेशन आज राती १२ बजेपछि अन्त्य हुने बालुवाटार निकट स्रोतले जानकारी दियो । साथै सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ ।
प्रतिनिधिसभा अन्त्य गरेर सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने स्रोतले जानकारी दियो । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको माधव नेपाल र जसपाको महन्थ ठाकुर पक्षलाई सहज हुनेगरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेका हुन् ।
‘चालु अधिवेशन अन्त्य गरेर सम्भवतः दल विभाजनसम्बन्धी अध्यादेश जारी हुनसक्छ । किनकी शेरबहादुरजीलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने माधव नेपाल र महन्थ ठाकुर पक्ष अहिले पार्टीमा अफ्ठयारो अवस्थामा हुनुहुन्छ । उहाँहरुलाई बाटो फुकाउने गरी अध्यादेश आउँछ,’देउवा निकट एक नेताले भने ।
हाल दल विभाजनका लागि ४० प्रतिशत केन्द्रीय समिति आवश्यक पर्छ । तर, नेपाल र ठाकुर पक्ष संख्या नपुगेका कारण अफ्ठ्यारो अवस्थामा छन् । नेपाल पक्षका नेताहरुले एमालेमा मिल्न नसक्ने बताउँदै आएका छन् । अध्यक्ष केपी शर्मा अोलीले पार्टी विभाजन चाहेकाले आफूहरु अलग भएर जाने नेपाल पक्षले बताएको छ ।
नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारले संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेकोमा आपत्ति जनाएका छन् ।
‘सरकारले आज एउटा गज्जबको निर्णय गर्दैछ भन्ने सुनेँ, यो संसद अन्त्य गर्ने नेकपा एमाले विभाजन गर्ने अध्यादेश ल्याउने’ उनले भने, ‘डेढ महिनासम्म हिजो संसदीय व्यवस्था चुनौती दिने र केपी ओली सरकारलाई गाली गर्ने सरकारले आज यो निर्णय ग¥यो भने संसदीय इतिहासमा कालो निर्णय हुनेछ ।’




प्रतिक्रिया