काठमाण्डु – प्रतिनिधिसभाको अर्को बैठक यही असोज १९ गते बस्ने भएको छ । आज बसेको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोेध कायमै राखेपछि बैठक १९ गते सम्मका लागि स्थगित गरिएको सभामुख अग्नि सापकोटाले जानकारी दिए ।
बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए । बैठकमा सभामुख सापकोटाले बैठक अवरुद्ध नगरी सदनको काम कारबाही अघि बढाउने सन्दर्भमा सहयोग गर्न आग्रह गरेका थिए ।
उनले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल हुन नसक्ने कुरा प्रतिनिधिसभा नियमावलीमा व्यवस्था रहेको स्मरण गराए ।अवरोधकै बीचमा सभामुख सापकोटाले राजनीतिक दलसम्बन्धीको अध्यादेश खारेजी र विधेयक प्रमाणीकरणसमबन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए। प्रमाणीकरण गरिएको विधेयकहरुमा आर्थिक विधेयक–२०७८ र राष्ट्र ऋण उठाउने विधेयक– २०७८ छन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन–२०७८ पेश गरे । नेकपा (एमाले)ले अधिवेशन प्रारम्भ भएदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसद्मा अवरोध जारी राखेको छ ।




प्रतिक्रिया