प्रतिनिधिसभाको बैठक आज बस्दै,संसद अवरोध हुन सक्ने


काठमाण्डु – संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा विद्यालय शिक्षा विधेयक पेश गर्ने कार्यसूची रहेको छ।

त्यस्तै सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची पनि रहेको छ।

त्यसैगरी सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

आजको बैठकमा ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ । त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउन सरकारले आनाकानी गरेपछि नेकपा एमालेले संसदमा बिरोध जनाउने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले आज बस्ने प्रतिनिधिसभा बैठकमा असोज ५ गतेभित्र गठन गर्ने भनिएको समिति नबनाएको बिषयले संसदमा काम कारबाही अबरोध गर्ने संकेत गरेका छन् ।

‘असोज १४ गते प्रतिनिधिसभाको बैठक बस्दै छ तर सरकार संसदको बैठकलाई द्वन्द्व र मुडभेटतर्फ धकेल्न चाहन्छ, मुलुकको समग्र राजनीतिलाई अबिस्वास, धोकाधडी र आपसी अन्तरबिरोधको पथमा लैजाने चेष्टा गर्दैछ,’ उनले भोलीको सम्भावित घटनाबारे संकेत गर्दै भनेका छन, ‘सुन तस्करीको सम्बन्धमा उच्चस्तरीय छानबिन तथा अनुसन्धानको लागी उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भयो । त्यो सहमतिलाई संसदको बैठकले अनुमोदन पनि गर्‍यो तर त्यसलाई कार्यान्वयन गर्न सरकार तयार भएन, बरु उल्टै अनेकौं बहानबाजी गर्दै प्रमुख प्रतिपक्षी माथी मिथ्या भ्रम छर्न दिउसै रात पार्ने प्रपंच चलिरह्यो।’

संसदमा प्रतिनिधित्व गर्ने सात राजनीतिक दल र सरकारबीच गत भदौ ६ गते आयोग बनाउने सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement