विराटनगर – जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय भएसंगै मोरङ जिल्लामा नागरिकता लिनेको उत्तिकै भीड बढेको छ । मोरङमा बिहीबारसम्म ७ सय ४५ जनालाई नागरिकता वितरण गरिएको छ ।
थप ३५ सय टोकन वितरण गरिएको जिल्ला प्रशासन कार्यालय मोरङकी सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले जानकारी दिनुभयो । ओलीले इलाका प्रशासन कार्यालय रंगेली, इलाका प्रशासन कार्यालय उर्लावारी तथा जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता वितरण भई रहेको वताउनुभयो ।
जसमा रंगेलीबाट १ सय ५९, उर्लाबारीबाट ७९ र जिल्ला प्रशासन कार्यालय मोरङबाट ६ सय ६६ लाई नागरिकता वितरण गरिसकिएको छ । यसअघि सर्वोच्चकै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले नागरिकता वितरणको परिपत्र रोक्न अन्तरिम आदेश दिएको थियो । चैत २५ को उक्त आदेशलाई सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले खारेज गरेपछि नागरिकता वितरणको बाटो खुलेको हो ।
वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने गरी गृहमन्त्रालयले गत चैत १९ गते मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको थियो । नागरिकता पाउनका लागि आमा र वावुुको नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य हुुनुुपर्छ । २०६३ सालमा टोलीले देशभर १ लाख ७० हजार ४२ जनाले जन्मको आाधारमा नागरिकता पाएका थिए । यो समाचार आजको समाचारपत्रमा छ ।
प्रतिक्रिया