परशुराममा खानेपानीको चरम संकट, डिजिटल सिटीको आश्वासन दिने मेयर भने मौन!

परशुराममा खानेपानीको चरम संकट, डिजिटल सिटीको आश्वासन दिने मेयर भने मौन!

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टक खाती काठमाण्डु- डडेल्धुराका अधिकांश स्थानीय पालिकामा रहेका पानीको मुहान सुकेपछि गाउँघरमा खानेपानीको चरम संकट भएको छ। अहिले जिल्लाका सातवटै पालिकाका अधिकांश स्थानमा पानीको मुहान सुकेपछि पिउने पानीको समस्या झेल्नु परेको हो ।

जसमध्ये परशुराम नगरपालिकामा पनि खानेपानीको चरम संकट भएको छ । गर्मीयाम लागेसगैँ परशुराम नगरपालिकाका १२ वटै वडामा रहेका धारा, पँधेरा, कुवा, खोलाको पानीका मूलहरू सुक्न थालेपछि स्थानीय समुदायमा चिन्ता छाएको छ ।

जसअनुसार परशुराम नगरपालिका-७ मलासका बासीन्दाहरुले पनि खानेपानीको समस्या झेल्नु परेको छ । वर्षौदेखि यहाँका बासीन्दाहरुले खानेपानीको चरम समस्या झेल्दै आएका छन् ।

यस वर्ष पनि गर्मीयाम लागेसँगै एक घण्टाको पैदल दुरीमा रहेको मूहानबाट खानेपानी ल्याउनु पर्ने बाध्यता रहेको स्थानीय युवा जनक धामीले बताए । स्थानीय सरकारले चाँसो नदिएका कारण आफूहरुले खानेपानीका लागि सास्ती खेप्नु परेको भन्दै धामीले गुनासो गरेका छन् ।

‘चैत्र मेहिनादेखि वर्षायाम नलागेसम्म हामीले एक घण्टाको बाटो हिडेर पिठ्युमा ५० लिटरको जार बोकेर ल्याउछौँ । यहाँ करिब ५० घर परिवार छन् । गर्मीयाम लागेदेखि हामीलाई खानेपानीको चिन्ताले सताउछ । पटक-पटक स्थानीय सरकार लगायत नेताहरुलाई समस्या सुनायौँ । तर, हुन्छ-हुन्छ मात्र भन्छन् । खानेपानीको योजनासमेत हाल्दैँनन् । गाँउमा खानेपानी आयोजना सम्पन्न भएर आँगनमै पानीको धारा बन्ला र पानी बोक्नु पर्ने बाध्यता हट्ला भन्ने आशैआशमा छौँ ।’, धामीले काठमाण्डुपाटीसँगको कुराकानीमा भने ।

त्यस्तै परशुराम नगरपालिका-६ छेला, कुणाका बासीन्दाहरुले पनि खानेपानीको समस्या झेल्दै आएका छन् । छेला र कुणाका बासीन्दाहरुले महाकाली नदिबाट पानी पिठ्युमा बोकेर ल्याउने गरेको स्थानीय युवा भुपेन्द्र धामीले बताए ।

‘देश संघीयतामा गएको पनि करिब ८ वर्ष भइसक्यो । अहिलेसम्म जनताले न्युनतम आधारभूत आवस्यकतासमेत प्राप्त गर्न सकेका छैनन् । जनप्रतिनिधिहरु मञ्च पाएपछि माइक नै फुट्ने गरि भाषण गर्नमा नै मख्ख छन् । जनताले के पाएका छन् भन्ने कुरा छेला र कुणाका जनताले पिठ्युमा महाकालीको पानी बोकेको दृश्यले नै प्रष्ट पारेको छ । छेला, कुणा र मलासको कुरा मात्र होइन परशुराम नगरपालिकाका अधिकांश क्षेत्रमा यहि समस्या छ । आखिर त्यो स्मार्ट सिटी र डिजिटल सिटी कहाँ-कहाँ बनेको रहेछ ? आम परशुराम बासी जान्न चाहान्छन् ? ’, उनले परशुराम नगरपालिकाका मेयर भरत बडायरप्रति कटाक्ष गर्दै भने ।

आम नागरिकले खानेपानीको समस्या झेलि रहँदा स्थानीय सरकारले वैकल्पिक उपाय अपनाउन कुनै पनि पहल नगरेको भन्दै उनले गुनासो गरे । परशुराम नगरपालिकाका मेयर भरत भडायर जोशी हुन् । जोशी मेयरमा निर्वाचित हुँदाखेरि युवा मेयर पायौँ भनेर परशुराम बासीहरु खुसी भएका थिए । चुनावको बेलामा जोशीले परशुराम नगरपालिकालाई डिजिटल सिटी बनाउने भन्दै भोट मागेका थिए । तर, मेयरमा निर्वाचित भइसकेपछि स्थानियका माग  सुन्न छोडेको जोशीमाथि आरोप छ ।