टक खाती, काठमाण्डु- डडेल्धुराको परशुराम नगरपालिकामा बर्खे बिदा सकिए पछि विद्यालयमा पठनपाठन सुरु भएको छ । परशुराम नगरपालिकाभित्र पर्ने अधिकांश खोलामा पुल नहुँदा विद्यार्थीलाई विद्यालय जान निकै सास्ती परेको हो ।
परशुराम नगरपालिका वडा न.६ मा पर्ने कसान खोला, घट्टे खोला, ठुलिगाड खोला र पुन्तुरा खोलामा पुल बनेको छैन । यसले गर्दा विद्यार्थीहरुले विद्यालय जाँदाखेरी कठिनाइको सामना गर्नुपर्ने बाध्यता छ । अलि माथिल्लो कक्षामा पढ्ने विद्यार्थी ज्यानकै जोखिम मोलेर विद्यालय पुग्ने गरेको वडा न. ६ का स्थानीय भुपेन्द्र धामीले बताएका छन् ।
धामीका अनुसार वर्षायाममा ८ कक्षा तलका विद्यार्थी विद्यालय जानबाट बन्चित छन् । खोलामा बाढी आएपछि ८ कक्षा तलका विद्यार्थी खोला तर्न नसकेर बीच बाटोबाटै घर फर्कने गरेको उनले बताए । ‘परशुरामका अधिकांश वस्तीलाई जोड्ने खोलामा पुल नहुँदा विद्यार्थीलाई विद्यालय जान निकै सास्ती परेको छ । वर्षायाममा विद्यार्थीहरुको ज्याननै जोखिममा परेको छ । अलि माथिल्लो कक्षामा पढ्ने विद्यार्थी ज्यानकै जोखिम मोलेर विद्यालय पुग्छन भने, स-साना विद्यार्थीहरु विद्यालय जानबाट बन्चित छन् । यो समस्या केहीले सम्म हो ?’, उनले भने
धामीले परशुराममा विद्यार्थीहरुलाई सास्ती परिरहेका बेला मेयर भरत बडायरको ध्यान भने सिंगापुरको पुस्तकालयतर्फ भएको बताएका छन् । ‘विद्यार्थीहरु मारमा परिरहेका बेला हाम्रा मेयर ज्यु सिंगापुरको एक पुस्तकालयमा लि क्वान यु को काम गर्ने तरिका सिक्दैँ परशुराममा पनि आधुनिक पुस्तकालयको स्थापना गर्ने योजनामा छन् । मेयर ज्यु गर्वती महिला बाटो मै बच्चा जन्माउ छिन् , विद्यार्थीहरु विद्यालय जान पाउदैँनन्, गाउँ घरमा बिरामी बोक्ने स्टेचर समेतको ब्यबस्था छैन , विद्यालयमा शिक्षक पदपूर्ति गर्न सकिएको छैन, शिक्षक कर्मचारीको तलबभत्ता ब्यबस्थापन गर्न सकिएको छैन, किसानलाई सिचाइको ब्यबस्था छैन । त्यसकारण मेयर ज्यु त्यो आधुनिक पुस्तकालय पछि निर्माण गरौंला । पहिले जनताका न्युनतम आधारभुत आवश्यकता पूरा गर्न तिर लागौं ।’, उनले भने ।
वडा न. ६ लगायत परशुराम नगरपालिकाका अन्य वडामा पनि वर्षायाममा विद्यालय जान विद्यार्थीहरुले निकै समस्या खेप्नु परेको छ । यो समस्या यसवर्षको मात्रै होइन । प्रत्येक वर्षको वर्षायाममा विद्यार्थीहरु विद्यालय जान डराउने गर्छन ।
थोरै वर्षा हुँदा पनि खहरे खोला ह्वात्तै आउँने हुँदा विद्यार्थीहरु विद्यालय जान डराउने गर्छन । तर, परशुराम नगरपालिकाभित्र पर्ने मुख्य-मुख्य खोलामा अझैँपनि पुल बन्न सकेकाे छैन् । खोलामा पुल नहुँदा बर्खायाममा नगरपालिकाभित्र खोला नजिक भएका वस्तीमा आवतजावत बन्द हुने गरेको छ ।




प्रतिक्रिया