काठमाण्डु- विश्व हिन्दु युवा संघ डडेल्धुराले गाई काटेर खानेहरुलाई कारबाही गर्न माग गरेको छ । विश्व हिन्दु युवा संघका अध्यक्ष रोहन ऐरले विज्ञप्ति जारी गर्दै गाई काटेर खानेहरुलाई कारबाही गर्न माग गरेका हुन् ।
उनका अनुसार गाई काटेर खाएको विरोधमा बुधबार परशुराम नगरपालिका-१२ जोगबुढामा प्रर्दशन गर्ने कार्यक्रम रहेको छ । उनले उक्त विरोध कार्यक्रममा सहभागि हुन सबैलाई आग्रह गरेका छन् । रोहन ऐरले पछिल्लो समय समग्र हिन्दुहरुको आस्थामाथी आघात पु¥याउने र धार्मिक सहिष्णुतामा खलल पु¥याउने काम भइरहेको बताए ।
‘धरानमा केही दिन अगाडि धार्मिक द्वन्द्व निम्त्याउने आपराधिक समूहद्वारा हिन्दुत्वको नै अपमान हुनेगरी सामाजिक संजालमार्फत साक्षात लक्ष्मीको रुपमा पुजिने गाई (गोरु) काटेर भोज खाएको घटना अक्ष्यम्य छ । उक्त घृणित घटनाको विश्व हिन्दू युवा संघ डडेल्धुरा घोर भर्त्सना गर्दछ । नेपालको कानुनले गौ हत्यालाई पूर्णतः वर्जित गरेको भएता पनि दिनानुदिन गौहत्याको घटना बढनु गम्भीर तथा चिन्ताजनक विषय हो । कानुनमा गौ हत्यालाई दण्डनीय अपराध भनेर उल्लेख गरिएको छ ।’ उक्त विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै अध्यक्ष ऐरले केही समय अगाडि परशुराम नगरपालिका स्थित महाकाली नदिमा गाईगोरुलाई बगाएको घटनामा संलग्नहरुलाई कुनै कारबाही नगरेको गुनासो गरे ।
‘केही समय अगाडि डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका ५ परशुराम धाममा अमानवीय ढङ्गबाट सयौं गाई गोरुहरुलाई महाकाली नदिमा बगाउनेहरुलाई कारबाही नगर्नुले पनि प्रहरीहरुमाथि नै प्रश्न खडा गरेको छ । गाई काट्ने घटनामा संलग्न अपराधीहरुलाई समयमा नै कानुनी दायरामा ल्याईएन भने हामी चर्को आन्दोनमा उत्रिने छौँ ।’ उनले भने ।




प्रतिक्रिया