प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजे बस्दै


काठमाण्डु- प्रतिनिधि सभाको बैठक माघ १६ गते (आइतबार) बस्ने भएको छ । पुस सात गते यता बस्न नसकेको बैठक माघ १६ गते दिउँसो १ बजेका लागि बोलाइएको हो ।

यसअघि पुस १८ का लागि राखिएको बैठक नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनका कारण स्थगित भएको थियो भने पुस २२ गते नेकपा एमालेको बैठकका कारण बस्न सकेको थिएन । त्यसै गरी पुस २८ र माघ ३ का लागि बोलाइएको बैठक कोरोना संक्रमणका कारण बस्न सकेको थिएन ।

स्थानीय तहको निर्वाचनको मिति घाषणा गर्न नसक्नु, नेकपा एमालेले संसद् अवरोध कायम राखेको र कोभिड सङ्क्रमण समेत उच्च रहेको अवस्थामा माघ १६ मा बैठक बस्न लागेको हो ।

त्यसैगरी सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितीको बैठक बोलाएका छन्। आइतबार बिहान ११ बजे वीरेन्द्र अन्तरास्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा परामर्श समितिको बैठक डाकिएको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन्।

‘भोलि बिहान ११ बजे सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ ।’ न्यौपानेले भने, ‘दशौँ अधिवेशनका हरेक बैठक बस्नुअघि सभामुखले कार्यव्यवस्था बैठक राख्नु भएको छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement