काठमाण्डु – जेनजी आन्दोलनअघिसम्म छुट्टाछुट्टै मोर्चाबन्दी गरेर चुनावी प्रतिस्पर्धामा उत्रिँदै आएका पुराना दलहरू अब एकै मोर्चामा उभिने भएका छन् ।
आसन्न राष्ट्रियसभा चुनावमा मिलेर विश्वासको वातावरण बनाउँदै प्रतिनिधिसभा चुनावमा पनि तालमेल गर्ने भित्री तयारीमा पुराना दलहरू लागेका छन् ।
जेनजी आन्दोलनको भावनाअनुसार नयाँ दल र समूहहरू एकजुट भइरहेका बेला पुराना दलहरू समेत एकजुट हुन थालेका छन् । राष्ट्रियसभा चुनावमा नेपाली कांग्रेस र नेकपा एमाले मात्रै मिले पनि सहजै जित्न सकिने भए पनि यी दुवै दलले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) लाई पनि समेट्ने तयारी गरेका छन् । राष्ट्रियसभा चुनावबाटै नजिकिएर प्रतिनिधिसभा चुनावमा पनि तालमेल गर्ने पुराना दलहरूको तयारी छ ।
राष्ट्रियसभा चुनावको तालमेलमा नेपाली कांग्रेस र एमालेले ७/७, नेकपाले २ र जसपाले १ सिट पाउने गरी सहमतिको खाका तयार भइरहेको जनाइएको छ ।
माघ ११ गते राष्ट्रिय सभाका १८ सिटका लागि हुने निर्वाचनका लागि भोलि बुधबार उम्मेदवारी दर्ता गरिँदैछ । त्यसअघि पुराना दलहरूले तालमेललाई अन्तिम रूप दिँदैछन् ।
प्रतिनिधिसभा निर्वाचनमा नयाँ दलहरू र समूह एकजुट भइरहेका बेला पुराना दलहरू विगतको तिक्तता बिर्सिंदै नजिक हुन थालेका हुन् । यसका लागि पुराना दलहरूबिच देशैभरका निर्वाचन क्षेत्र बाँडफाँटको अभ्यास समेत सुरु भएको छ । कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी र जसपाले विगतमा जितेका निर्वाचन क्षेत्र आफैंसँग राख्ने र अन्य दलले जितेका क्षेत्र बाँडफाँट गरेर जानेबारे दलहरूबिच छलफल चलिरहेको छ ।




प्रतिक्रिया