देशलाई नयाँ युगतिर लैजान वैशाख ९ गते नै पार्टी एकता : अध्यक्ष प्रचण्ड

देशलाई नयाँ युगतिर लैजान वैशाख ९ गते नै पार्टी एकता : अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा- माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले एमाले–माओवादीबीच बैशाख ९ गते नै पार्टी एकता गर्ने सम्पूर्ण प्रयास जारी रहेको बताएका छन् ।

धनकुटाको पाख्रिवासमा प्राकृतिक श्रोत व्यवस्थापन कलेजको उद्घाटन तथा भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो पूरै प्रयास छ कि वैशाख ९ गते नै बिशाल जनसमुदायको अगाडि एउटा एकीकृत पार्टीको घोषणा गरौँ । देशलाई विकासको एउटा नयाँ युगतिर, समाजवादको नयाँ युगतिर, सामाजिक न्याय र विकासको नयाँ युगतिर लैजाऔं ।’

अध्यक्ष प्रचण्डले स्थिरता र समृद्ध नेपाल निर्माणको अवसर सदुपयोग गर्न राष्ट्रिय एकताको लागि सबैलाई आह्वान गरे । ‘यस्तो अवसर सधैँ आउँदैन, देशभरि विभिन्न सशस्त्र र शान्तिपूर्ण आन्दोलनमा गरेका सङ्घर्षको प्रतिफल अहिले हामी स्थिर र समृद्ध नेपाल निर्माणको संघारमा छौँ’, उनले भने ‘यो अवसर गुम्यो भने नेपाल निकै ठूलो दुर्घटनामा पर्छ, त्यसकारण हामीले राष्ट्रिय एकताको प्रदर्शन गरौँ, हामीले स्थायित्वको प्रदर्शन गरौँ ।’

अध्यक्ष प्रचण्डले देशलाई समृद्ध बनाउन चीन र भारतबाट रेल ल्याउने र मध्यपहाडि लोकमार्गलाई पूरा गर्ने तयारी गरिएको बताए । नेपालमै खानी उत्खनन् गरी उद्योग स्थापना गर्ने योजना बनिरहेको पनि प्रचण्डले खुलासा गरे । ‘अस्तिभर्खर प्रधानमन्त्री, म र सम्बन्धित मन्त्रालय बसेर केही खनिज पदार्थहरू फलाम, स्टिल उद्योग हामीले आफैं बनाउन सक्छौँ भन्ने कुरा भएको छ’, उनले भने, ‘हामीकहाँ ठूल–ठूला बहुमूल्य धातु छन् । त्यसलाई राम्रोसँग सदुपयोग गर्न सक्यौँ भने ८/१० वर्ष्भित्र नै नेपाललाई विकासको गतिमा अगाडि बढाउन सक्छौं । आम नेपाली जनताले यहीँ रोजगारी प्राप्त गर्ने र विदेश गएकाहरुलाई पनि फर्काउने अवस्था आउँछ ।’